प्रमुख दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी
सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका केही शीर्ष नेताको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ। जेन–जी आन्दोलनको दमनमा संलग्न तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेकाहरूमाथि यस्तो कदम चाल्नेबारे छलफल भएको छ ।
“जेन–जी आन्दोलनको दमनमा संलग्न कार्यकारी नेतृत्वलाई कानुनी दायरामा ल्याउनुपर्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काको निर्णय हुने देखिन्छ,” मन्त्रिपरिषद् स्रोतले भन्यो, “त्यसपछि थप कारबाही अघि बढ्न सक्छ ।”
स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतको नाम स्पष्ट रूपमा आएको छ। वाचलिस्टमा शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भइरहेको छ।
यसअघि सरकारको पहलमा अध्यागमन विभाग र राहदानी विभागसँग छलफल भइसकेको छ। छलफलमा राहदानी रोक्का गर्ने कानुनी प्रक्रिया, आवश्यक आधार र कागजातबारे विस्तृत जानकारी लिइएको थियो।
हालसम्म कुनै नेताको राहदानी रोक्का गरिएको छैन, तर तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यससँगै सम्पत्ति शुद्धीकरण विभागले केही नेताहरूको घरमा छानबिन पनि सुरु गरिसकेको छ। हालै कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमन्त्री दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभागले मुचुल्का उठाइसकेको छ। यी सबै घर जेन–जी आन्दोलनको क्रममा आगजनीमा परेको थिए।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार जलेको नोट, नगद रकम तथा अन्य प्रमाण भेटिएको छ। यसैका आधारमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढाइएको हो।
नेपालको राहदानी ऐन, २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिन्छ। अदालत वा सरकारकै निर्णयबाट पनि यस्तो कदम चाल्न सकिने व्यवस्था ऐनमा छ।
यद्यपि, हालसम्म कुनै नेताको राहदानी रोक्का गरिएको छैन। तर आवश्यक कारणसहित सम्बन्धित निकायले पत्राचार गरेपछि मात्र राहदानी रोक्का हुने मन्त्रालय स्रोतले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस