कसरी गर्दै छ माओवादीले महाधिवेशनमा जेनजीको सहभागिता?

नेकपा माओवादी केन्द्रले आउन लागेको विशेष महाधिवेशनमा संयोजकसहित आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचनमार्फत चयन गर्नुपर्ने प्रस्ताव गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावमा यसबारे प्रष्ट उल्लेख छ। प्रस्तावअनुसार, प्रत्येक जिल्ला र महाशाखाबाट पार्टी सदस्य संख्याको आधारमा युवाको प्रतिनिधित्व हुने व्यवस्था मिलाइनेछ। एक हजार सदस्य बराबर एक युवा प्रतिनिधि हुनेछ।
त्यस क्रममा तीन युवा प्रतिनिधिमध्ये एक महिला अनिवार्य हुने, प्रत्येक जिल्लाबाट एक दलित र एक युवाको प्रतिनिधित्व हुने प्रावधान प्रस्ताव गरिएको छ। साथै प्रत्येक जिल्ला र महाशाखाबाट एक–एक जना जेन–जी समूहको प्रतिनिधित्व रहनेछ।
महाधिवेशनमा सहभागी हुने जेनजी प्रतिनिधि छनोट यसरी हुने प्रस्ताव गरिएको छः
१. प्रत्येक पालिका र शाखाहरूबाट एकएक जना ।
२. जिल्ला र महाशाखाहरूबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्ने । जसमा १ हजार सदस्य बराबर एक जना प्रतिनिधित्व हुनेछ । सदस्य संख्याका आधारमा प्रतिनिधि चयन गर्दा प्रति तीन जनामा एकजना महिला प्रतिनिधि हुनुपर्ने । हरेक जिल्लाबाट एकजना दलित र एकजना युवाको प्रतिनिधित्व अनिवार्य गराउने । जिल्ला र महाशाखाहरूबाट थप एक–एक जना जेन्जी समूहको प्रतिनिधित्व रहने ।
३. सातवटा भौगोलिक प्रदेशहरूबाट २५ जनाका दरले प्रतिनिधित्व गराउने । हरेक प्रदेशबाट सात जना महिला, दुई जना दलित र एक जना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने । गैरभौगोलिक दश जनामध्ये तीनजना महिला एकजना दलित एक जना युवा अनिवार्य हुनुपर्ने छ । प्रवासका तीनवटा प्रदेशहरूबाट सात जनाका दलरले प्रतिनिधित्व हुनुपर्ने छ । यसमा दुइ जना महिला र एकजना युवाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने छ ।
४. हरेक विभागबाट दुई दुईजना प्रतिनिधि रहनेछ ।
५. सबै आयोगहरूबाट १०/१० जना प्रतिनिधि रहनेछ ।
६. जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्को तर्फबाट १०/१० जना प्रतिनिधित्व रहने ।
७. केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व रहने ।
८. केन्द्रीय तहका जन वर्गीय संगठनबाट एक महिला अनिवार्यसहित दुई दुई जना, जातीय तथा क्षेत्रीय मोर्चाहरूबाट १/१ जना, केन्द्रीयस्तरका प्रतिष्ठान, फाउण्डेसन, समाज, सामाजिक संगठनबाट १, १ जना र पार्टीको सहायक संगठन (वाइसिएल)बाट ५ जना प्रतिनिधित्व रहने ।
९. केन्द्रीय सचिवालयले ५ प्रतिशतमा नबढ्ने गरी मनोनयन गर्न सक्ने ।
१०. संयोजक लगायत आयोजक समितिका सम्पूर्ण सदस्यहरू माथि निर्धारित प्रतिनिधि क्षेत्रबाट निर्वाचित हुनुपर्नेछ । आयोजक समितिको कुनै सदस्य चुनिन नसकेको अवस्थामा आयोजक समिति सदस्यका रुपमा चुन्न र चुनिनेबाहेक महाधिवेशनका सम्पूर्ण गतिविधिमा सहभागी हुनेछन् ।
११. सबै प्रदेश समितिहरू प्रदेश अधिवेशन आयोजक समितिमा रुपान्तरित हुनेछन्, प्रदेश अध्यक्षले संयोजकको भूमिका र पदाधिकारीहरू अधिवेशन आयोजक समिति सचिवालयको भूमिकामा रहने ।
तपाईको प्रतिक्रिया दिनुहोस