Techie IT
२०८२ कार्तिक ६, बिहीबार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग सम्बोधन गर्ने वर्तमान सरकारको कार्यक्षेत्रमा पर्दैन - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनमा आफ्नो सरकारको प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण सुनिश्चित गरिने बताएकी छिन्। उनले विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। योग्य र सक्षम जनप्रतिनिधि छान्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरेकी छन्।

हालैको युवा आन्दोलनलाई 'अभूतपूर्व' प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले दोषीहरूलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले स्पष्ट पारेकी छन् कि जेनजी पुस्ताले उठाएका केही मुद्दा तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान गरिनेछ।

प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ववत् अवस्थामा फर्काउने प्रक्रिया सुरु भइसकेको बताइन्। आफ्नो कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने र सरकारी सेवालाई झन्झटमुक्त बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्। सेवाग्राहीका लागि उजुरी व्यवस्थापन र तीनै तहमा हटलाइन सेवा सञ्चालन गर्ने योजना रहेको, साथै आर्थिक क्रियाकलाप सहज बनाउन एकीकृत कार्ययोजना ल्याइएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन हालको सरकारको कार्यक्षेत्रभित्र नभएको उल्लेख गर्दै आवश्यक परे संवैधानिक प्रक्रियाबाट मात्रै संशोधन गर्न आह्वान गरेकी छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न जेनजी आन्दोलनकारीहरूले उठाएका मागको सन्दर्भमा उनले त्यस्तो व्यवस्था तत्काल लागू नहुने स्पष्ट पारेकी छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट