बहुमतको दम्भले पार्टीलाई राम्रो ठाउँमा पुर्याउदैन - नेता श्रेष्ठ
बहुमतको दम्भले सबैलाई संकटमा पार्न सक्छ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र बहुमतको दम्भले पार्टीलाई राम्रो ठाउँमा नपुर्याउने बताएका छन्।
माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको समापन सत्रमा बोल्दै उनले भने, “बहुमतको कुरा मान्नुपर्छ भन्ने मान्छु तर बहुमतको दम्भले पार्टीलाई ठीक ठाउँमा पुर्याउँदैन।”
बैठकको सुरुवातमै फरक मत राखेका श्रेष्ठको प्रस्तावलाई थोरै नेताहरूले मात्र समर्थन गरेका थिए। श्रेष्ठले थपे, “कम्युनिस्ट पार्टीमा बहुमतको निर्णयलाई अल्पमतले मान्नुपर्छ, म पनि मान्छु। तर बहुमतको दम्भबाट सबै बाहिर निस्कनुपर्छ। हामीले आफ्नै आँखाअगाडि दुई-तिहाइको दम्भ भएको सरकार कसरी ढल्यो भनेर देखिसकेका छौँ । यहाँ पनि बहुमतको दम्भले सबैलाई संकटमा पार्न सक्छ।”
उनले बहुमत सधैं सत्य नहुन सक्ने चेतावनीसमेत दिए। “ओलीको बहुमतले देशलाई आजको अवस्थामा ल्यायो। हाम्रो अवस्था पनि त्यस्तै नहोस्। फरक विचार र फरक सोचलाई बहुमतले दबाउन हुँदैन,” श्रेष्ठले भने।
श्रेष्ठका अनुसार उनले प्रस्तुत गरेको फरक प्रस्ताव नेतृत्व परिवर्तनका लागि नभई संकट टार्नका लागि थियो। उनले भने, “योभन्दा दुखद अवस्था नआओस् भन्ने हेतुले फरक प्रस्ताव राखेको हुँ। प्रमुख नेतामाथि प्रश्न उठेकाले जेन–जी आन्दोलन भयो। यो अवस्था झन विकराल नहोस् भनेर बचाउन खोजेको हुँ। मैले अध्यक्षलाई हटाउने प्रयास गरेको होइन, बरु आफूलाई संयोजक बनाएर अघि बढ्न प्रस्ताव गरेको हुँ।”
तपाईको प्रतिक्रिया दिनुहोस