अन्तर्राष्ट्रिय एजेण्ट बालेनहरूको खेल सफल हुन दिँदैनौँ — बस्नेत
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले त्यसलाई सफल हुन नदिने बताएका छन्। आज शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बस्नेतले भने, “सावधान र नेकपा (एमाले) छ, एमाले यो धर्तीमा छ। युवा संघ छ। कांग्रेस लगायत लोकतान्त्रिक दलहरू छन्। हामी लोकतन्त्र र संविधान जलाउन दिँदैनौं। संसदीय व्यवस्थालाई ध्वस्त हुन दिँदैनौं।”
उनले काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र शाह (बालेन) को गतिविधिलाई पनि असफल बनाउने दाबी गरेका छन् । “हामी नेपालको राष्ट्रियता अपहरण गरी अन्तर्राष्ट्रिय फोरम र विदेशी शक्तिको रणभूमि बनाउनु हुँदैन भन्छौं। जेन–जी पुस्तालाई अन्तर्राष्ट्रिय एजेण्ट बनाइ त्यसको फन्डमा सञ्चालित समूहमार्फत युवालाई अपराधी वा आतंकवादी बनाउने प्रयास सफल हुन दिँदैनौं,” बस्नेतले भने।
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद् र सर्वोच्च अदालतजस्ता संस्थागत भवनहरूमा आगजनी भएको र यसले देशलाई एम्बुसमा पार्ने प्रयास भएको आरोप पनि लगाएका छन् ।
बस्नेतले दाबी गरे, ‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’



तपाईको प्रतिक्रिया दिनुहोस