Techie IT
२०८२ असोज २१, मंगलबार

कांग्रेसको वार्षिक कोजाग्रत पूर्णिमाहुने चियापान यस वर्ष स्थगित


नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षति र पछिल्ला अकल्पनीय राजनीतिक घटनाक्रमका कारण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

उक्त आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै देउवा निवासमा आगजनी भएको थियो। कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरूको घरमा समेत आगजनी र तोडफोड भएको थियो। साथै, राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका संरचना तथा प्रहरी कार्यालयहरूमा समेत आगजनी र तोडफोड भएको थियो। घटनामा ७४ जनाको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएको तथ्य सार्वजनिक गरिएको छ।

कांग्रेसले यस घटनालाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद’ घटना भन्दै गहिरो शोक व्यक्त गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा मुलुक शोकमा डुबेको बेला राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता झनै बढेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “यो विषम परिस्थितिमा आम नेपाली नागरिक गहिरो शोकमा रहेका कारण कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने निर्णय गरिएको छ।”

नेपाली कांग्रेसले विक्रम संवत् २०३३ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन भारत निर्वासनबाट बी.पी. कोइरालाको स्वदेश फर्किएको स्मरण गर्दै ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को सन्देशसहित चियापान कार्यक्रम गर्दै आएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट