प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेन्डा बनाएर चुनावमा जाँदै माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय गर्दै मातहतका सबै संगठनमा सर्कुलर पठाएको छ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ। पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा भएको निर्णयअनुसार उक्त सर्कुलर पठाइएको एक प्रदेश अध्यक्षले बताएका छन्।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठनलगायतका मुद्दा निरन्तर उठाइने उल्लेख गरिएको छ।
यसैगरी, पार्टीले २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन्। बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णय गरिएको छ।
बैठकले समाजवादी मोर्चामा रहेका दलहरूसँग अविलम्ब पार्टी एकताको पहल गर्ने र एकता सम्भव भए विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा गर्ने निर्णय गरेको छ।
त्यस्तै, आन्तरिक शुद्धीकरण र संगठनात्मक सुधारका लागि पनि ठोस कदम चाल्ने योजना बनाइएको छ। यस अन्तर्गत नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय र समिति विकास तथा हरेक समितिमा एक तिहाइ युवाको अभ्यास गर्ने व्यवस्था रहने उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस