प्रधानमन्त्री कार्कीबाट ओली-लेखक पक्राउको दबाब, सुरक्षा प्रमुखहरूद्वारा अस्विकार
“अहिले हामीले उनीहरूलाई पक्राउ गर्दा भोलि प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि जाहेरी आउन सक्छ । त्यस्तो अवस्थामा के गर्ने?”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन आएको खुलेको छ।
‘हामी नेपाल' गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङसहितको समूह सोमबार ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित उजुरी लिएर प्रहरी कार्यालय पुगेको थियो। तर, प्रहरीले उनीहरूको उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो।
स्रोतका अनुसार, उक्त योजना जेन–जी प्रदर्शनपछि प्रधानमन्त्री बनेकी कार्कीकै निर्देशनमा गरेको बताइएको छ। सुरक्षा अधिकारीका अनुसार, सुधन गुरुङ नेतृत्वको समूह प्रहरी कार्यालय उजुरी बोकेर जानुअघि नै बालुवाटार पुगेको थियो।
ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री कार्कीले चारवटै सुरक्षा प्रमुखहरूसँग सोमबार राती बैठक गरी छलफल गरेकी थिइन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख (आईजीपी) चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
बैठक राति २ बजेसम्म चलेको र करिब बिहान ३ बजे सकिएको थियो। बैठकमा सुरक्षा प्रमुखहरूले ओली र लेखक पक्राउ गर्दा थप रक्तपात र स्थिति नियन्त्रणबाहिर जाने सम्भावना बारे ब्रिफिङ दिएका थिए। सरकारले निर्देशन दिए पनि लिखित आदेशबिना अग्रसर हुन नसकिने अडान सुरक्षा प्रमुखहरूले राखेका थिए।
भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन हिंसात्मक बनेको थियो । २३ गते प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएको थियो भने प्रदर्शनपछि घाइते भएका थप १० जनाको मृत्यु पनि सुरक्षाकर्मीको गोली लागेर भएको हो । जेन–जी प्रदर्शनमा गोली र आगजनीबाट मृत्यु हुनेको संख्या हाल ७६ पुगेको छ।
हालको सरकारले जेन–जी प्रदर्शनको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। तर, जेन–जीको दबाबका कारण सरकारले आयोगको प्रतिवेदन पेस हुनुअघि नै ओली र लेखकलाई पक्राउ गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीसहित तीन सुरक्षा निकायका प्रमुखहरूले असहमति जनाएका छन्। प्रधानमन्त्री कार्कीले सोमबार राति बालुवाटारमा चारवटै सुरक्षा प्रमुखको बैठक बोलाएर यो विषयमा छलफल गरेकी थिइन्।
स्रोतका अनुसार, नेपाल प्रहरीका महानिरीक्षक खापुङले पक्राउ गर्दा परिस्थिति जटिल बन्ने र चुनावी वातावरण बिग्रने भएकाले छानबिन आयोगको प्रतिवेदन आएपछि मात्रै कदम चाल्नुपर्ने धारणा राखेका थिए। सशस्त्र प्रहरी प्रमुख अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख कार्की पनि यही धारणा राखेका थिए।
बैठकमा सहभागी एक अधिकारीका अनुसार, खापुङले “अहिले हामीले उनीहरूलाई पक्राउ गर्दा भोलि वर्तमान प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूविरुद्ध पनि जाहेरी आउन सक्छ । त्यस्तो अवस्थामा के गर्ने?” भनेर प्रतिप्रश्न गरेका थिए । महानिरीक्षक खापुङले जेनजी आन्दोलनमा दमन हुँदा आफू पनि पदमा रहेकाले ‘मविरुद्ध जाहेरी परे के गर्ने’ भनेर समेत प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग प्रश्न गरेका थिए।
सुरक्षा निकायका अधिकारीहरूले साथ नदिँदा तत्कालका लागि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले ओली–लेखकलाई नियन्त्रणमा लिने योजनाबाट पछि हटेका छन्। तर, जेन–जीको एउटा समूहले तत्काल पक्राउ गर्न दबाब दिइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस