Techie IT
२०८२ असोज २८, मंगलबार

निर्वाचनको तयारीबारे राष्ट्रपति पौडेललाई आयोगको ब्रिफिङ


काठमाडौं – फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ दिएको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बिहीबार शीतल निवास पुगेर आयोगको तर्फबाट निर्वाचन तयारीको अवस्था र आगामी कार्य योजना प्रस्तुत गरेका हुन्।

भण्डारीले राष्ट्रपतिलाई जानकारी दिँदै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी, स्रोतसाधन व्यवस्थापन र भावी कार्यक्रमहरूबारे अवगत गराएको बताएका छन् ।

उनका अनुसार आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन र जनशक्ति सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल पूरा गरिसकेको छ। मितव्ययी ढङ्गले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराइने र निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने आश्वासन पनि सरकारको तर्फबाट प्राप्त भएको छ।

भण्डारीले आयोगले आन्तरिक प्रशासनिक तयारी समेटेर तयार पारेको कार्य योजना अनुसारका कामहरू योजनाबद्ध रूपमा अघि बढाइरहेको जानकारी दिए। साथै आयोगले निकट भविष्यमा राजनीतिक दल र सरोकारवालाहरूसँग छलफल गरी बाँकी कार्यहरू अघि बढाउने कार्यक्रम तय गरेको छ।

संशोधित मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य पनि सुचारु रूपमा जारी रहेको आयोगले जनाएको छ।

राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न निर्देशन दिएका छन्। साथै राजनीतिक दल र सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाइ, तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी समयमै पूरा गर्न आग्रह पनि गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले स्वीकृत कार्य योजनाअनुसार आगामी दिनमा निर्वाचन आचारसंहिता निर्धारण र कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, छानबिन, अन्तिम नामावली प्रकाशन र मतदानलगायतका कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालासँग परामर्श गरेर तय गरिने जनाएको छ। आयोगले निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

शीतल निवासमा भएको भेटवार्तामा आयोगका आयुक्तहरू जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपति कार्यालयका सचिव डा। दीपक काफ्ले र राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू पनि उपस्थित थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट