चुनावी तयारीबारे राष्ट्रपति सक्रिय, आज सरकार र दलहरूसँग छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र राजनीतिक दलका प्रतिनिधिहरूसँग आज (शुक्रबार) अपराह्न ४ बजे शीतलनिवासमा छलफल गर्न लागेका छन्।
राष्ट्रपतिले आगामी निर्वाचनबारे सरकार र सबै दलबीच संवाद अघि बढाउन पहलस्वरूप छलफल आह्वान गरेका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार छलफलमा सरकारका मन्त्रीहरू र विघटित प्रतिनिधिसभामा रहेका सबै दलका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसके पनि सरकारले राजनीतिक संवाद अगाडि नबढाएको भन्दै दलहरूले आलोचना गर्दै आएका छन्। निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू शीतलनिवास पुगेर राष्ट्रपतिको भेटमा गएका थिए। सो भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो व्यक्त गर्दै सबै दलबीच संवाद र सहमतिको आवश्यकता औँल्याएका थिए।
प्रधानमन्त्री कार्कीले पनि निर्वाचनको वातावरण बनाउनका लागि दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपतिको आग्रह गरेकी थिइन्। त्यसअनुसार राष्ट्रपति पौडेलले शुक्रबारको छलफल बोलाएका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस