Techie IT
२०८२ असोज २८, मंगलबार

प्रधानमन्त्रीलाई दलहरूको प्रश्न : सरकारले बोलाउने बैठक किन राष्ट्रपतिले बोलाए ?


राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दलहरूले आगामी चुनावका लागि सुरक्षित र विश्वसनीय वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो शीतलनिवासमा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले सरकार चुनावी तयारीमा गम्भीर नभएको गुनासो गरेका थिए । कांग्रेसतर्फबाट पूर्णबहादुर खड्का र गगनकुमार थापा सहभागी थिए भने, एमालेतर्फबाट ईश्वर पोखरेल र शंकर पोखरेल उपस्थित थिए ।

बैठकमा दुवै दलका नेताहरूले सुरक्षाकर्मीको मनोबल घटिरहेको, आपराधिक गतिविधि बढिरहेको र सरकार त्यसलाई नियन्त्रण गर्न असफल भइरहेको टिप्पणी गरेका थिए। साथै, सरकारले चुनावलाई प्राथमिकतामा नराखेको पनि आरोप लगाएका थिए ।

जवाफमा प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनलगत्तै मृतक तथा घाइतेको व्यवस्थापन र उपचारमा लाग्नुपर्ने भएकाले दलहरूसँग संवाद गर्न ढिलाइ भएको बताएकी थिइन् । उनले दलहरूलाई ‘बाइपास’ गर्ने सरकारको कुनै मनसाय नभएको स्पष्ट पारेकी थिइन्।

बैठकमा माओवादी केन्द्रका प्रतिनिधिहरूले सबै दलले कुनै पनि हालतमा चुनावमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का नेता सिके राउतले “चुनाव नभए राष्ट्र नै रहँदैन” भन्दै चुनाव अपरिहार्य रहेको टिप्पणी गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पनि चुनावको वातावरण बनाउन सरकार र ठूला दल दुवै समान रूपमा जिम्मेवार रहेको उल्लेख गरेका थिए ।

राष्ट्रपति पौडेलले सबै दलका नेताहरूलाई चुनाव समयमै सम्पन्न गराउन सहयोग गर्न अनुरोध गर्दै बैठक समापन गरेका थिए ।

तर, बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्री कार्कीसँग ‘राष्ट्रपतिलाई बीचमा किन ल्याउनुपर्‍यो’ भन्ने प्रश्न पनि उठाएका थिए ।

प्रधानमन्त्री कार्कीले त्यसबारे स्पष्टीकरण दिँदै भनिन्, “हाम्रै आग्रहमा राष्ट्रपतिज्यूले बैठक बोलाउनुभएको हो। अबदेखि छलफल सिंहदरबारमै हुनेछ।”

उनले आन्दोलनकारी पक्षलाई असन्तुष्ट पार्ने जोखिमका कारण पहिलो बैठक राष्ट्रपतिद्वारा समन्वय गराइएको र त्यसपछि सरकारले सिधा संवाद अघि बढाउने जानकारी दिएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट