Techie IT
२०८२ असोज २७, सोमबार

जेनजी आन्दोलनकै बलमा प्रधानमन्त्री बन्नेले असली जेनजी नचिन्ने ?


प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले ‘असली जेनजी आफूले नचिनेको’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

शनिबार काठमाडौंमा बसेको आजपाको काठमाडौं उपत्यका विशेष समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री कार्कीको उक्त भनाइलाई ‘हाँस्यास्पद मात्र होइन, आपत्तिजनक’ समेत भएको बताएका छन्।

साहले प्रश्न गरे, ‘त्यही जेनजी आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभयो, तर अहिले असली जेनजी अगुवा को हो, मैले चिनेको छैन भन्नुहुन्छ यो हाँस्यास्पद मात्रै होइन, आपत्तिजनक कुरा हो।’

उनले थपे, ‘रियल जेनजीहरू तपाईंलाई नचिनेका रहेछन् भने, प्रधानमन्त्रीको दाबी गर्न एक महिनाअघि शीतलनिवास किन पुग्नुभयो ? आन्दोलन कसको थियो भन्ने थाहा थिएन र ?’ साहका अनुसार, ‘बास्तविक जेनजी नचिन्ने प्रधानमन्त्रीलाई भोलि जनताले “डुप्लिकेट प्रधानमन्त्री” को संज्ञा दिन सक्छन्।’

साहले वर्तमान सरकारले तोकिएको मितिमा निर्वाचन गराउन सक्ने क्षमतामाथि पनि शंका व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा रहेको सरकारले ‘अँध्यारो कोठाबाट शासन गर्ने शैली’ अपनाएको आरोप लगाए।

‘सुशीला सरकार वजनदार देखिएन,’ उनले भने, ‘अँध्यारो कोठाबाट शासन–सत्ता चलाउने कुरा हामीलाई अस्वीकार्य छ। अदालतमा बेञ्च चलाएजस्तो देश चलाउन सजिलो हुँदैन।’ उनका अनुसार, मुलुक अहिले विषम परिस्थितिमा छ तर प्रधानमन्त्री कार्कीले देशलाई सही निकास दिन आवश्यक गम्भीरता देखाएकी छैनन्। उनले प्रधानमन्त्रीले बोलाउनुपर्ने सर्वदलीय बैठक शीतलनिवासको पहलमा मात्र सीमित भएको भन्दै आलोचना गरे।

साहले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि पनि प्रश्न उठाए। उनका अनुसार, राष्ट्रपति पौडेलले दलहरूलाई मात्र प्राथमिकता दिँदै जेनजी आन्दोलनका अगुवाहरूलाई बेवास्ता गरेका छन्। ‘दलहरूसँग एकदिन र जेनजीहरूसँग अर्को दिन छलफल गरेर राष्ट्रपति के सन्देश दिन खोज्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरे।

साहले गृह प्रशासनको कमजोरीका कारण सरकार असफलताको दिशातर्फ गएको दाबी गरे। उनले आन्दोलनका क्रममा सुरक्षानिकायबाट लुटिएका हातहतियार अझै फिर्ता ल्याउन नसकिएको भन्दै प्रश्न गरे ‘लुटिएको हतियार फिर्ता गर्न महिनौं लाग्ने सरकारले फागुन २१ गते चुनाव गर्न सक्ला ? यो सरकारको क्षमतामाथि प्रश्न उठिसक्यो।’

उनका अनुसार, जनविद्रोहको जितपछि सुरुवाती उत्साह मथ्थर बन्दै गएको र जनता निराश बन्दै गइरहेका छन्। उनले प्रधानमन्त्री कार्कीले महिनौंसम्म मन्त्रिपरिषद् पूर्णता दिन नसकेको भन्दै आलोचना गरेका छन् ।

साहले अबको निकासको बाटो अन्तरिम संविधान र अन्तरिम सरकार नै भएको दाबी गर्दै भने, ‘अहिलेको निकास यही व्यवस्था र यही संविधान कायम राखेर होइन, अन्तरिम संविधान बनाएर जानु पर्छ। जनविद्रोहलाई संस्थागत गर्न देशभक्त, न्यायप्रेमी र अग्रगामी शक्तिहरूबीच फेरि निर्णायक संघर्ष आवश्यक छ।’

साहले आजपा स्थापना भएको छोटो समयमै देशभर लोकप्रियता हासिल गर्न सफल भएको दाबीसमेत गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट