Techie IT
२०८२ असोज २७, सोमबार

राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्वप्रति प्रधानमन्त्री कार्कीको चासो


प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा ‘जेन–जी’ पुस्ताको प्रतिनिधित्व गराउने विषयमा चासो देखाएकी छन्। आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटक्रममा प्रधानमन्त्री कार्कीले सो विषयमा सरोकार व्यक्त गरेकी हुन्।

राष्ट्रिय सभाका अध्यक्ष दाहालका अनुसार भेटका क्रममा आगामी राष्ट्रिय सभा निर्वाचन र जेन–जी पुस्ताको प्रतिनिधित्वबारे छलफल भएको थियो। राष्ट्रिय सभाका १८ जना सदस्यको पदावधि फागुन २१ गते सकिँदैछ। सोही सन्दर्भमा अध्यक्ष दाहालले रिक्त पदमा निर्वाचन गराउने विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेका थिए।

अध्यक्ष दाहालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री कार्की राष्ट्रिय सभाको निर्वाचन समयमै गराउने पक्षमा रहेको बताए। उनका अनुसार निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिसकेको र सो तालिकामा प्रधानमन्त्री कार्की सहमत रहेकी छन्।

दाहालले भने, “फागुन २० गते १८ सदस्यको पदावधि सकिन्छ। त्यसका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय आयोगले गरिसकेको छ। मैले प्रधानमन्त्रीलाई जानकारी गराएँ, उहाँ सकारात्मक हुनुहुन्छ।”

अध्यक्ष दाहालका अनुसार छलफलका क्रममा जेन–जी पुस्तालाई प्रतिनिधित्वमा ल्याउने विषय पनि उठेको थियो। उनले भने, “जेन–जी अहिले जल्दोबल्दो विषय हो। भोट हाल्ने स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सांसदहरू हुन्। राजनीतिक सहमति गर्न सकियो भने उनीहरूलाई समावेश गर्न सकिन्छ भन्ने सुझाव मैले प्रधानमन्त्रीलाई दिएँ।”

दाहालका अनुसार सातै प्रदेशमा समयमै निर्वाचन गराउने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल टुंगिएको छ।

प्रधानमन्त्री कार्की राष्ट्रिय सभाको बैठक छठ पर्वपछि सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष दाहालले बताए। उनका अनुसार सिंहदरबारस्थित संसद् सचिवालयको कृषि समितिको हललाई अस्थायी रूपमा राष्ट्रिय सभाको बैठक कक्षका रूपमा प्रयोग गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखिएको छ।

प्रधानमन्त्री कार्कीले बैठक सञ्चालनका लागि तयारी गर्न मुख्य सचिवलाई निर्देशन दिनेसम्मको पहल गरेको दाहालको भनाइ छ। “राष्ट्रिय सभा एउटा वैधानिक संस्था हो, जसले ऐन, कानुन र जनताको सवाल बोकेको हुन्छ। त्यसलाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्छ भन्नेमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,” दाहालले भने।

भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको तर्फबाट संवैधानिक दायराभित्र रहेर सरकारले चाहेको कानुनी प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै उनले उपाध्यक्ष विमला घिमिरेका लागि उचित आवासको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे।

जेन–जी आन्दोलनका क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवासमा आगजनी भएको थियो।  दाहालले भने, “उपाध्यक्षको घर जलिसक्यो, तर उहाँ पदमा हुनुहुन्छ। बस्ने ठाउँ छैन, त्यसैले सरकारी व्यवस्थाबाट निवास मिलाइदिन आग्रह गर्‍यौँ।”

त्यस्तै उनले राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र सांसदहरूले पाउँदै आएको सेवा–सुविधा कटौती नगर्न पनि सरकारसँग आग्रह गरेका छन्।

उनका अनुसार प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा कायम रहेको हुँदा सदस्यहरूको सुविधा कटौती गर्नु उचित हुँदैन। प्रधानमन्त्री कार्कीले पनि सो विषयमा आफू सकारात्मक रहेको बताएकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट