Techie IT
२०८२ असोज २७, सोमबार

एकीकृत समाजवादीका यी पाँच निर्णय, पार्टी एकता देखि चुनाव सम्म...


नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिहरूबीच भइरहेको एकता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ देखि २६ गतेसम्म काठमाडौँमा बसेको बैठकले माओवादी केन्द्रलगायत दलहरूसँग भइरहेको वार्ता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी वार्ता समितिलाई दिएको हो।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाका अनुसार, ‘वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन दसौँ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ।’

एकीकृत समाजवादीले यसअघि नेता बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र प्रमेश हमाल सदस्य रहेका तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो।

बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि गरेको छ। प्रवक्ता ज्वालाले भने, ‘प्रतिनिधि सभा निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचन तयारीमा जुट्ने निर्णय भएको छ।’

त्यस्तै, बैठकले निर्वाचन आयोगले कार्तिक मसान्तसम्म चलाइरहेको नयाँ मतदाता नामावली दर्ता प्रक्रियामा सक्रिय सहभागी हुन सबै पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिएको छ।

सचिवालय बैठकले वर्तमान राजनीतिक संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा तथा विश्वसनीय निर्वाचन वातावरण सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति र दलहरूबीच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ।

ज्वालाले भने, ‘गणतन्त्र र संविधानको रक्षा गर्दै वर्तमान संकटको समाधान र विश्वसनीय निर्वाचन वातावरण बनाउन सहकार्य र संवादलाई तीव्र बनाउने निर्णय भएको छ।’

एकीकृत समाजवादीले पार्टी स्थायी कमिटीको बैठक असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक असोज ३० गते गर्ने पनि जनाएको छ।

यता पार्टीभित्र भने माओवादी केन्द्रसँग एकता गर्ने विषयमा मतभेद देखिएको छ। वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नहुने अभिव्यक्ति दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट