जेन–जी आन्दोलनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै ओली

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्।
राजीनामापछि भक्तपुरको गुण्डुमा बस्दै आएका ओलीले दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा उनले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।
गत भदौ २४ गते बालुवाटारबाट राजीनामा दिएपछि ओलीले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन्। पछिल्ला दिनमा उनी पार्टीका आन्तरिक कार्यक्रम र भेटघाटमार्फत पुनः राजनीतिक सक्रियता बढाइरहेका छन्।
यसअघि उनको पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिए पनि अन्ततः कार्यक्रम स्थल कोटेश्वर सराइएको हो। रामबाग महलमै हालै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो।
एमालेको शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा ओलीले घुमाउरो रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा सकारात्मक संकेत दिएका थिए। सो संकेतपछि पार्टीभित्र फरक मत राख्ने नेताहरूको तयारी केही समयका लागि रोकिएको बताइन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस