देश दिशाहीन बन्दैछ, अधिनायकवादी फेरि टाउको उठाउँदै छन् : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले गृहमन्त्रीले देशमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने दिशामा प्रभावकारी भूमिका नखेलेको आरोप लगाए।
मौलापुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष साहले गृहमन्त्री अर्यालले राजनीतिक प्रतिशोधका गतिविधि बढाएको आभास दिलाएको बताए। उनले भने, “देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले सुझबुझ देखाउन सकेका छैनन्। उनी अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा लागेका छन्।”
साहले गृहमन्त्रीलाई चुनावको म्यान्डेटमा केन्द्रित हुन सुझाव दिँदै भने, “गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने वा बहस गर्ने जस्तो सजिलो होइन। समयको गम्भीरतालाई बुझेर चुनावको वातावरण निर्माण गर्नुपर्छ।”
उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि आरोप लगाउँदै भने, “प्रधानमन्त्री कार्की देशलाई दिशाहीन बनाउने बाटोमा लागेकी छन्। यही कमजोरीका कारण जेन–जी आन्दोलनको क्रममा युवामाथि नरसंहार गर्ने केपी ओलीजस्ता अधिनायकवादीहरू फेरि टाउको उठाउँदै छन्।”
साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने सङ्केत दिएको दाबी गर्दै न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई निर्णायक संघर्षमा उत्रिन आह्वान गरे।
उनले थपे, “फागुन २१ गतेका लागि प्रतिनिधिसभा चुनाव गराउन बनेको सरकारले अहिले जथाभावी हात हाल्न थालेको छ। यसको परिणाम स्वरूप राजदूतहरूलाई अकारण फिर्ता बोलाइएको छ, जुन अस्वीकार्य छ।”
तपाईको प्रतिक्रिया दिनुहोस