Techie IT
२०८२ कार्तिक ४, मंगलबार

“सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन” - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्म र म्यान्डेटभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग भएको भेटमा उनले सरकारले पाएको जनादेशअनुसार मात्रै काम गर्ने र कानुनी प्रक्रियाभित्र रहेर अघि बढ्ने बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्छौं। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौं।”

उनले तोकिएको समयमा चुनाव हुने र भ्रष्टाचारविरुद्ध दृढतापूर्वक छानबिन अघि बढाइने पनि स्पष्ट पारिन्। “चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ,” उनले भनिन्, “राज्यका निकायहरूले तीव्र गतिमा छानबिन गरिरहेका छन्। तपाईंहरू बोल्न र दबाब दिन नछाड्नुहोस्, अब नतिजा देख्न पाउनुहुनेछ।”

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल लगायतको सहभागिता थियो।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, जेनजी आन्दोलनका घाइतेहरूले सरकारले भ्रष्टाचार र दमनविरुद्ध कठोर कदम चाल्नुपर्ने सुझाव दिएका थिए।

घाइतेहरूका तर्फबाट रुपिन खड्काले नेतृत्व गरेको १८ जनाको टोलीले प्रधानमन्त्रीलाई भेटेर पाँच बुँदे माग प्रस्तुत गरेको थियो। ती मागमा आन्दोलनका क्रममा गोली प्रहार गर्नेलाई कारबाही, संविधान सुधार, आन्दोलनको संरक्षण, र भ्रष्टाचारको छानबिनको माग समावेश रहेको बताइएको छ।

घाइते प्रतिनिधि खड्काले प्रधानमन्त्रीलाई सोधे, “जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौं, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले रोकेको हो नियम, कानुन वा संविधान?”

उनले थपे, “तपाईं चुनाव मात्र भनिरहनु भएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?”

गृहमन्त्री अर्यालले छलफलका क्रममा भाग्न खोज्ने र अकुत सम्पत्ति लुकाउनेहरू अब देशमै देखापर्न थालेको बताउँदै, छानबिन तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउँदै, घाइतेहरूलाई धैर्य गर्न आग्रह गरेकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट