पूर्वऊर्जामन्त्री खड्कामाथि गृहमन्त्रीको प्रहार: भाग्ने अवस्था नसकेपछि नेपालमै छु भन्दै देखा परे

गृहमन्त्री ओमप्रकाश अर्यालले भाग्ने वा लुक्ने अवस्था नभएपछि केही नेताहरू ‘नेपालमै छु’ भन्दै सार्वजनिक रुपमा देखा पर्न थालेको टिप्पणी गरेका छन्।
आज मङ्गलबार बालुवाटारमा प्रधानमन्त्रीसहित ‘जेन–जी’ आन्दोलनका घाइतेहरूसँग भएको छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
छलफलका क्रममा घाइतेहरूले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न माग गरेका थिए। आन्दोलनका घाइतेहरूले २०८४ को चुनाव २०८२ मा सार्नु मात्रै आन्दोलनको उपलब्धि हुन नसक्ने भन्दै ठोस परिवर्तन आवश्यक रहेको बताएका थिए।
भ्रष्टाचारविरुद्ध कारबाही नभए सडकमा उत्रिएर पुनः आन्दोलन सुरु गर्ने चेतावनी समेत घाइतेहरूले दिएका थिए। घाइते रुपिन खड्काको नेतृत्वमा गएको १८ सदस्यीय टोलीले ‘क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी निर्णय लिनुपर्छ’ भन्ने धारणा राखेको थियो।
घाइतेहरूको तर्फबाट बोल्दै खड्काले भने, “जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले रोकिरहेको छ? नियमले, कानुनले कि संविधानले? जहाँ बाधा छ, त्यहीँबाट फुकाउन सुरु गरौँ।”
त्यसपछि गृहमन्त्री अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे चलिरहेको छानबिनको प्रगतिबारे जानकारी गराएका थिए। त्यस क्रममा उनले भने, “भाग्ने र लुक्ने अवस्था नसकेपछि केही नेताहरू नेपालमै छु भन्दै देखा पर्न थालेका छन्।”
केही दिनअघि गृहमन्त्री अर्यालले कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का देश छोडेर भागिसकेको बताएका थिए। तर खड्काले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै आफू कतै नभागेको स्पष्ट पार्दै गृहमन्त्रीलाई सार्वजनिक रूपमा चुनौती दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस