आज मन्त्रिपरिषद् विस्तार हुर्दै, यी चार नयाँ मन्त्रीलाई शपथ खुवाइने
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले चार जना नयाँ मन्त्री थप्दै मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न लागेकी हुन् ।
प्रधानमन्त्रीले सिफारिस गरेको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकेकी छिन् र चारै जना मन्त्रीलाई आजै शपथ ग्रहण गराइने तयारी भएको स्रोतले जनाएको छ ।
सरकारमा समावेश हुन लागेका चार मन्त्रीमा
डा. सुधा शर्मा गौतम — स्वास्थ्य तथा जनसंख्या मन्त्री,
गणपतिलाल श्रेष्ठ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,
खगेन्द्र सुनार — श्रम तथा रोजगार मन्त्री,
बब्लु गुप्ता — युवा तथा खेलकुद मन्त्री — हुने भएका छन् ।
राष्ट्रपति कार्यालयले शपथग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
डा. सुधा शर्मा गौतम
स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव तथा स्त्री–प्रसूति रोग विशेषज्ञ हुन् । उनी ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तककी लेखिका पनि हुन् । प्रशासनिक अनुभव र स्वास्थ्य क्षेत्रको गहिरो ज्ञानका कारण उनलाई मन्त्रीको जिम्मेवारी दिइएको बताइन्छ ।
गणपतिलाल श्रेष्ठ
सम्पदा संरक्षण अभियन्ताका रूपमा चिनिएका श्रेष्ठले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्रलगायत सम्पदाको पुनःनिर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् । उनले विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालयमा समेत सम्पदा संरक्षणबारे प्रस्तुति दिएका थिए ।
खगेन्द्र सुनार
दलित अधिकारका अभियन्ता सुनारले सामाजिक न्याय र समानताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन् । उनले संवैधानिक निकायमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा नेल ठोकेर प्रदर्शन गरेका थिए । २०७७ सालमा रुकुम पश्चिममा भएको नवराज विक हत्या घटनापछि उनी निरन्तर न्यायका लागि आन्दोलनमा सक्रिय रहे ।
बब्लु गुप्ता
सामाजिक अभियन्ता गुप्ता कोभिड महामारीका समयमा ‘नि:शुल्क खाना अभियान’ चलाएर चर्चामा आएका थिए । त्यसअघि उनले ‘कपडा बैंक अभियान’ र ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थी सहयोग कार्यक्रम सञ्चालन गरेका थिए । उनी बिरामीका लागि रगत खोजिदिने ‘सारथि’का रूपमा पनि चिनिन्छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस