Techie IT
२०८२ कार्तिक ९, आइतबार

यस्तो छ फागुन २१ को निर्वाचन कार्यतालिका, नयाँ दलले कात्तिक ३० भित्र प्रमाणपत्र लिइसक्नुपर्ने


आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलहरूले यही कात्तिक ३० गतेभित्र निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक ३० गते निवेदन दिने अन्तिम मिति नभई ‘दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने’ अन्तिम मिति हो ।

आयोगका एक अधिकारीका अनुसार, दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने कानुनी व्यवस्था भए पनि निर्वाचनको सम्मुखमा भएकाले यो प्रक्रिया छिटो अघि बढाइएको छ । "व्यवहारिक रूपमा हेर्दा, सबै कागजपत्र मिलेर कात्तिक २५ गते अगाडि निवेदन आइसकेको खण्डमा मात्र कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र दिन सकिन्छ," ती अधिकारीले भने ।

निर्वाचन आयोगमा हाल १६ वटा नयाँ दल दर्ताका लागि निवेदन परेको छ, जसमध्ये ७ वटा निवेदन जेनजी आन्दोलनपछि परेका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, यी सबै १६ निवेदन अध्ययनको क्रममा छन् ।

केही दललाई विधान स्पष्ट पार्न र केहीलाई सनाखतका लागि आवश्यक संख्या पुर्‍याउन भनिएको छ । हालसम्म आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १२४ छ । यसबीचमा जनमत पार्टी फुटेर ‘जनस्वराज पार्टी’ र नेपाल जनमुक्ति पार्टी फुटेर अर्को नयाँ दल दर्ता भइसकेका छन् ।

दर्ता प्रक्रियामा रहेका दलहरूमा धरानका मेयर हर्क साम्पाङ अध्यक्ष रहेको ‘श्रम संस्कृति पार्टी’ र दिनेश प्रसाईं अध्यक्ष रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ पनि छन् ।

यस्तै, ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ ले चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेकोमा आयोगले उक्त चिन्ह फेर्न आग्रह गरेको छ । ‘राष्ट्रिय परिवर्तन पार्टी’ (अध्यक्ष अजयकुमार, चुनाव चिन्ह बाँसुरी) र ‘नेपाल लिबरल पार्टी’ (अध्यक्ष गोपीलाल न्यौपाने, चुनाव चिन्ह सिक्का) पनि दर्ताका लागि पुगेका छन् । यसअघि नै नेपाल नागरिक पार्टी र उज्यालो नेपाल पार्टीले पनि निवेदन दिइसकेका छन् ।

आयोगको कार्यतालिका अनुसार, नयाँ दलहरूले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिनु पहिलो चरण मात्र हो ।

निर्वाचनमा भाग लिनका लागि, यी नयाँ दलसहित पुराना सबै दलहरूले पुनः मंसिर १ गतेदेखि १० गतेसम्म ‘निर्वाचन प्रयोजनका लागि’ छुट्टै दल दर्ता गराउनुपर्नेछ ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन प्रयोजनका लागि दल दर्ता: मंसिर १ – १० गते

समानुपातिकतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना: मंसिर १५ गते

समानुपातिक बन्दसूची पेश: पुष १८ – १९ गते

प्रत्यक्षतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना: माघ २ गते

निर्वाचन प्रचारप्रसार: फागुन ३ – १८ गते

मतदान: फागुन २१ गते (बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म)



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट