Techie IT
२०८२ कार्तिक १०, सोमबार

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ गरोस् - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गरेकी छन्।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले हालको परिस्थितिमा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको बताएकी छन्।

उनले भनिन्, “छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका प्रतीक हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको खाँचो छ।”

प्रधानमन्त्री कार्कीका अनुसार सत्य, अहिंसा र प्रकृतिप्रेममा आधारित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई मजबुत बनाउने सेतुको रूपमा कार्य गर्दै आएको छ।

सन्देशमा उनले हालको राजनीतिक अवस्थालाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्रीले भनिन्, “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण ढङ्गले राखी जनताको मन जितेर निर्वाचनबाट अनुमोदन प्राप्त गर्नु नै लोकतन्त्रको सर्वोत्तम विधि हो।”

उनले निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई एकजुट हुन आग्रह गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएकी छन्। उनले भनिन्, “सबै पक्षले परिस्थितिको संवेदनशीलता बुझी आ–आफ्नो जिम्मेवारी पूरा गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला आएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट