परिवर्तन पक्षधर शक्तिबीच सहकार्य गरेर समाजवादी नेपालको निर्माण गरौं - प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री “पुष्पकमल दाहाल ‘प्रचण्ड’” ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने बताएका छन्।
लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताका महान् पर्व छठका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने “परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं भन्ने विश्वास व्यक्त गर्दछु।”
प्रचण्डले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक चुनौतीका बीचमा छठ पर्वले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको बताएका छन्। उनले शुभकामना सन्देशमा भने “छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस्। देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने हार्दिक कामना गर्दछु।”
मधेश–तराईको प्रमुख पर्वका रूपमा मनाइने छठ हाम्रो संस्कृति, परम्परा, श्रम–सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको प्रचण्डले उल्लेख गरेका छन्। उनका अनुसार, यो पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने कार्य गर्छ।



तपाईको प्रतिक्रिया दिनुहोस