Techie IT
२०८२ कार्तिक १२, बुधबार

१३ वर्षपछि संसदीय राजनीतिमा फर्किए विप्लब, एमालेसँग पार्टी समावेश गर्ने तयारी


नेकपा माओवादी केन्द्रसँगको एकता सम्भावना टर्दै गएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निर्वाचन आयोगमा आफ्नै पार्टी दर्ता गराउन पुगेका छन् । लामो समयदेखि वामपन्थी एकताको पहल भए पनि ठोस निष्कर्षमा पुग्न नसक्दा विप्लवले १३ वर्षपछि संसदीय राजनीतिमा औपचारिक पुनरागमनको बाटो रोजेका हुन् ।

मंगलबार महासचिव विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा टोली निर्वाचन आयोग पुगेको थियो । टोलीले आयोगमा “कम्युनिस्ट पार्टी नेपाल” नाममा दल दर्ताका लागि निवेदन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निवेदन दर्ता भइसकेको र छानबिन तथा रुजु प्रक्रिया अघि बढाइएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वकर्माले भने, “आजको दिन ऐतिहासिक हो । यो नेपाली जनताको प्रतीक्षा गरेको दिन हो । जनताको निर्णय गर्ने अधिकारलाई संस्थागत गर्ने दिन यही हो ।”

उनका अनुसार आगामी फागुन २१ गतेलाई घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा विप्लव नेतृत्वको पार्टी सहभागी हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले समाजवादी मोर्चामा रहेका वामपन्थी दलहरूलाई एउटै पार्टीमा एकीकृत गर्ने गृहकार्यमा छन् । उक्त मोर्चाका संयोजक विप्लव स्वयं हुन् ।  

माओवादी केन्द्रका एक नेताका अनुसार विप्लवले प्रचण्डसँगको वार्तामा आफूलाई नेतृत्व सुम्पिनु पर्ने प्रस्ताव राखेपछि तत्काल एकताको सम्भावना कमजोर बनेको हो । विप्लबले एकाएक उग्र महत्वकांशा राखेकाले माओवादी केन्द्रसँगको एकता करिबकरिब अन्त्य भएको छ । हिजोमात्र विप्लबले एउटा पत्रिकासँग अन्तर्वार्ता दिँदै उनले अब एमाले सँग पार्टी एकताका लागि पहल गर्ने बताइसकेका छन् । 

यता, मोर्चाभित्र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महेन्द्रराय यादव नेतृत्वको नेसपा माओवादीसँग पार्टी एकताको पक्षमा छन् । तर नेकपा (एस) भित्रका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल तत्काल माओवादीसँग एकता नगर्ने धारमा छन् । 

स्रोतका अनुसार प्रचण्डले माओवादी पार्टीको नाम र चुनाव चिन्हसमेत त्यागेर नयाँ एकीकृत पार्टी निर्माण गर्न सहमति जनाएका छन् । नेकपा (एस) को आजबाट सुरु हुने बैठकले यसबारे औपचारिक निर्णय गर्ने तयारी अध्यक्ष माधव नेपालको छ ।

माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्यायले पनि विप्लव पक्षसँगको वार्ता औपचारिक ढङ्गले अघि नबढेको बताए । “नेकपा (एस) सँग कुरा लगभग टुंगिएको छ, तर विप्लवजीको पार्टीसँगको प्रक्रिया स्थगित छ,” उनले भने ।

विप्लव २०६९ असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट मोहन वैद्य ‘किरण’सँगै अलग भएका थिए । २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्दै जनविद्रोहको घोषणा गरेका उनले २०७१ साल मंसिर ८ गते राष्ट्रिय नाचघरमा आयोजित भेलामा “नेकपा (माओवादी क्रान्तिकारी)” नामक नयाँ संगठन स्थापना गरेका थिए ।

संसदीय प्रणालीप्रति तीव्र आलोचनात्मक दृष्टिकोण राख्दै उनले त्यसलाई “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो” भनेर व्याख्या गरेका थिए । पछि पार्टी पुनर्गठन गर्दै “नेपाल कम्युनिस्ट पार्टी (नेकपा)” नाम राखेका थिए ।

२०७४ सालमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । त्यसपछि भूमिगत रहँदै आएका उनले २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गरेपछि भूमिगत राजनीति अन्त्य गरेका थिए ।

अहिले विप्लब संसदिय राजनीतिमा फर्किनुमा उनमा क्रान्तिको नारा लगाउदा लगाउदा जनताहरुले पत्याउन छोडेपछि बाध्य भएर पुरानै बाटोमा फर्किएका छन् । जनक्रान्तिको नाममा करिब सय जनाले ज्यान गुमाईसकेका छन् । जनक्रान्तिको नाममा सयौंजनाको ज्यान गइसकेपछि भने विप्लब संसदीय राजनीतिमा प्रवेश गरेर विप्लब आफैलाई प्रधानमन्त्री बन्नुपर्ने वकालत गरिरहेका छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट