नेता नमरुञ्जेल नेतृत्वमा बस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा “नमरुञ्जेलसम्म नेतृत्वमा बसिरहने” प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा युवा नेतृत्वको सुनिश्चितताका लागि महाधिवेशनबाटै २० प्रतिशत युवाको सहभागिता अनिवार्य गरिएको बताए। उनका अनुसार पार्टीमा अब नयाँ सोच र नयाँ शैलीको राजनीति आवश्यक छ। अध्यक्ष नेपालले भने, ‘हामीले नयाँ ढंगले सोच्नुपर्छ। एउटै व्यक्ति पटक–पटक सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने ? एउटै व्यक्ति सधैं पार्टीको शीर्ष पदमा बसिराख्ने ? अब यो प्रवृत्ति अन्त्य गर्नुपर्छ।’
उनले पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै आगामी चुनावका लागि तयारी सुरु गर्न निर्देशन दिएका छन् । नेपालका अनुसार सरकारले निर्वाचनको तयारी थालेकाले पार्टीले पनि समयमै संगठन सुदृढ पार्नुपर्ने आवश्यकता देखिएको छ।
अध्यक्ष नेपालले जेन–जी आन्दोलनका प्रतिनिधिहरूले आफूलाई भेटेर समाजवादी पार्टीको भूमिकाप्रति उच्च अपेक्षा व्यक्त गरेको पनि बताए। ‘मैले जेन–जीका साथीहरूलाई भेटेँ। उनीहरूले भनिरहेका छन्, तपाईंहरूको पार्टीको ठूलो महत्त्व छ, तपाईंहरू अगाडि बढ्नुस्, हामीलाई गौरव र विश्वास छ,’ अध्यक्ष नेपालले भने।



तपाईको प्रतिक्रिया दिनुहोस