आन्दोलनरत नर्सहरूको मागप्रति प्रचण्डको ऐक्यबद्धता, सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका नर्सहरूको आन्दोलन र उनिहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारले तिनको समस्या तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत जारी एक संक्षिप्त वक्तव्यमा अध्यक्ष प्रचण्डले नर्सहरूले भोगिरहेका तलब–पारिश्रमिकको असमानता, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव र कार्यस्थलमा असुरक्षाजस्ता समस्यालाई गम्भीर विषयका रूपमा औंल्याएका छन्।
उनले तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता र स्टाफ अभावका कारण बढेको कार्यदबाबले नर्सहरू निराश भइरहेका बेला सरकारले जिम्मेवार ढंगले पहल गर्नुपर्ने बताए।
“नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चित नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन,” अध्यक्ष प्रचण्डले भने ।
स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रूपमा रहेका नर्सहरूको पेशागत अधिकार र न्यायोचित माग पूरा गर्न सरकारलाई आग्रह गर्दै उनले सबै पक्षले संवाद र सहकार्यको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डका अनुसार, नर्सहरूको सशक्तिकरण र सुरक्षाको प्रत्याभूति हुन सके मात्र जनताको स्वास्थ्य अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छ।




तपाईको प्रतिक्रिया दिनुहोस