माओवादी नेता पुनद्वारा ०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न विशेष संयन्त्र निर्माण गर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको जेनजी प्रतिनिधि तथा विभिन्न राजनीतिक दलको बैठकमा उनले यो प्रस्ताव अघि सारेका हुन्।
पुनले निर्वाचनको वातावरण विश्वसनीय बनाउन सरकारसँग आग्रह पनि गरेका छन्। उनले भने, “सरकारले निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा ध्यान दिनुपर्छ। ०४६ पछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने हो भने हामी समर्थन र सहयोग गर्न तयार छौँ।”
उनले जेनजी आन्दोलनको मागप्रति आफ्नो समर्थन स्पष्ट गर्दै भने “भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा पार्टी र जेनजीबीच निकटता रहेको छ।”
पुनले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने पनि स्पष्ट पारेका छन् । उनले थपे, “हामी जेनजीसँग चुनावी सहकार्य गर्न चाहन्छौँ र संवाद निरन्तर जारी रहनेछ। जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धतालाई हाम्रो पार्टी उच्च सम्मान गर्छ। हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस