चुनावअघि महाधिवेशन गर्न सकिने महामन्त्री विश्वप्रकाशले दिए यी चार विकल्प
 
                                                        नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनअघि पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग बिहीबार बिहान टेलिफोन सम्पर्क गर्दै उनले यी चार विकल्प प्रस्तुत गरेका हुन्।
पहिलो विकल्पमा उनले २०७९ मंसिर २७ देखि २९ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका पारित गरेर नियमित महाधिवेशन अघि बढाउनुपर्ने उनको धारणा छ। शर्मा अनुसार, “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नियमित कार्यतालिका पारित गर्नु अहिलेको आवश्यकता हो।”
दोस्रो विकल्पका रूपमा उनले मंसिर मसान्तसम्म नियमित महाधिवेशन सम्भव नभए सोही अवधिमा विशेष महाधिवेशन गर्न सकिने सुझाव दिएका छन्। विधानको धारा १७ (२) अनुसार, केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको उनले बताएका छन्।
तेस्रो विकल्पमा शर्माले सोही धारामा भएको अर्को व्यवस्था अनुसार, महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आह्वान गर्न सकिने सम्भावना औंल्याएका छन्।
यदि यी तीन विकल्पमा पनि सहमति जुटेन भने, चौथो विकल्पका रूपमा उनले १५औं महाधिवेशन आगामी पुस १६ देखि १९ गतेसम्म आयोजना गर्न सकिने प्रस्ताव गरेका छन्। उनले संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा मेलमिलाप नीति लिएर फर्किएको दिनलाई स्मरण गर्दै सोही मितिदेखि महाधिवेशन सुरु गर्न सुझाव दिएका हुन्।
शर्माले केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन र महाधिवेशन तयारीका अन्य उपसमिति गठन गर्नुपर्ने आवश्यकता पनि जोड दिएका छन्।



 
     
    
तपाईको प्रतिक्रिया दिनुहोस