माओवादीसँगको एकता निर्णयप्रति झलनाथ खनालको आपत्ति, नयाँ पार्टी गठनको तयारी
 
                                                        नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग एकता गर्ने पार्टीको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले बैठकमा आफ्नो फरक मतलाई नजरअन्दाज गरी एकतर्फी रूपमा निर्णय गरिएको आरोप लगाएका छन्।
खनालले भने, “हामीलाई बोल्न दिइएन, एकतर्फी निर्णय गरियो। मैले ३० बुँदामा फरक मत प्रस्तुत गरेको थिएँ, तर त्यसलाई बेवास्ता गर्दै ‘सर्वसम्मत निर्णय’ भनेर झुट प्रचार गरिएको छ।”
उनका अनुसार, माओवादीसँग एकताको विरोधमा करिब एक सयभन्दा बढी नेता रहेका छन्। “हामी एकतामा छैनौं। माओवादीसँग जानेहरू गए, हामी कानुनी रूपमा मिल्ने हो भने यही पार्टीका नाममा अघि बढ्छौं, नमिले नयाँ पार्टी बनाउँछौं,” खनालले स्पष्ट पारे।
खनालले तत्काल अरू कुनै पार्टीमा जाने सम्भावना नरहेको बताउँदै, “हामी नयाँ ढंगले अघि बढ्नेछौं,” भने।
यसअघि, एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो।




 
    


 
     
             
             
             
             
            


तपाईको प्रतिक्रिया दिनुहोस