Techie IT
२०८२ कार्तिक १५, शनिबार

एमाले परित्याग गर्दै भट्टले भने– ४६ वर्षको राजनीतिक यात्रामा ओली जस्तो अहंकारी कम्युनिस्ट नेता देखेको थिएन

उनि एमाले सचिव तथा सुदुरपश्चिम ईञ्चार्ज लेखराझ भट्टका भाई हुन्


नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्। उनि एमाले सचिव तथा सुदुरपश्चिम ईञ्चार्ज लेखराझ भट्टका भाई हुन् । 

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय भट्टले पार्टी नेतृत्वमा चरम अहंकार देखिएको र सिद्धान्तिक मूल्य–मान्यता त्यागिएको भन्दै आफू अब स्वतन्त्र नागरिकको भूमिकामा रहने बताएका हुन्।

भट्टले आफूले झन्डै ४५ वर्षदेखि नेपालको कम्युनिस्ट आन्दोलनलाई नजिकबाट नियालेको बताउँदै भने, “अहिलेका कुनै पनि कम्युनिस्ट पार्टीले अन्याय र शोषणमा परेका वर्गको मुक्तिका लागि काम गरिरहेका छैनन्।”

उनका अनुसार हालै घटेको जेनजी आन्दोलनमा पार्टी नेतृत्वले देखाएको व्यवहार नै आफ्नो असन्तुष्टिको मुख्य कारण हो। उनले भने, “कलिला बालबालिकासमेतको ज्यान जाँदा नेतृत्वमा पश्चाताप हुनुको सट्टा अहंकार देखियो, जुन कम्युनिस्ट आन्दोलनको आत्मासँग मेल खाँदैन।”

भट्टले थपे, “४५–४६ वर्षको राजनीतिक यात्रामा एमाले अध्यक्ष ओली जस्तो अहंकार कम्युनिस्ट नेताहरूमा देखेको थिइनँ। अब यस्तो दम्भका कारण इमानदार कार्यकर्ता पार्टीमा टिक्दैनन्।”

उनले अब इमानदार र जागरूक कार्यकर्ताहरूले पार्टी छोड्ने लहर सुरु हुने दाबी गर्दै भने, “पार्टीमा अब केवल पद र अवसर खोज्नेहरू मात्रै बाँकी रहनेछन्।” भट्टले सम्पूर्ण इमानदार नागरिकहरूलाई कुनै दलको सदस्य नभई स्वतन्त्र रूपमा समाजमा योगदान पुर्‍याउन आह्वान गरेका छन्।

आफ्नो आगामी भूमिकाबारे उनले भने, “म अब स्वतन्त्र नागरिकको हैसियतमा समाजसँग जोडिनेछु। प्रबुद्ध वर्गसँग सहकार्य गर्दै सामाजिक काममा सक्रिय रहनेछु।”

भट्टका अनुसार अहिलेका प्रमुख दलहरूको नीतिकै कारण देश गम्भीर मोडमा पुगेको हो। तर उनले स्पष्ट पार्दै भने, “यदि भविष्यमा नयाँ पुस्ताले जनताको सेवाका उद्देश्यले नयाँ पार्टी बनायो भने, म त्यसलाई पूर्ण समर्थन दिनेछु।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट