महिला, मजदुर, दलितसँगै ४० वर्षमुनिका युवाका लागि समेत कोटा निर्धारण गर्ने एमालेको निर्णय
नेकपा (एमाले) ले महिला, मजदुर र दलितसँगै ४० वर्ष मुनिका युवाहरूका लागि पनि छुट्टै कोटा व्यवस्था गरेर प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित अस्थायी निवासमा बसेको सचिवालय बैठकले ४० वर्ष मुनिका युवाहरूका लागि निश्चित कोटा छुट्याउने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचन क्षेत्रका आधारमा प्रतिनिधि चयन गर्दा प्रत्येक क्षेत्रबाट एक महिला र एक जना ४० वर्ष मुनिका युवा चयन गरिनेछ।
१२ सय सदस्य बराबर चार जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। तीमध्ये एक जना महिला र एक जना युवा रहनेछन्। यसअनुसार कम्तीमा १६५ जना युवा एमालेको प्रतिनिधिमा चयन हुनेछन्।
१२ सयभन्दा बढी सदस्य भएका निर्वाचन क्षेत्रहरूमा हरेक ८ सय सदस्यका अनुपातमा थप एक प्रतिनिधि चयन गरिनेछ। यसरी छनोट हुने प्रतिनिधिहरूबीच खुला प्रतिस्पर्धा हुनेछ। दलित समुदायका लागि हरेक जिल्लाबाट एक जना प्रतिनिधि अनिवार्य हुनेछन्। गैरभौगोलिक क्षेत्र सहित जम्मा ८१ जना प्रतिनिधि सुनिश्चित गरिने एमाले नेताहरूले जानकारी दिएका छन्।
प्रतिनिधि चयन हुने अर्को आधार प्रदेश हुनेछ। गैरभौगोलिक क्षेत्र सहित नौ प्रदेशबाट दुई महिला सहित पाँच–पाँच जना प्रतिनिधि चयन गरिनेछ। त्यस्तै, ११ वटा विशेष जिल्ला कमिटीबाट ४७ जना प्रतिनिधि ल्याउने निर्णय भएको छ।
मजदुरका तर्फ सातवटै प्रदेशबाट सात–सात जनाका दरले ४९ जना प्रतिनिधि चयन गरिनेछन्। जनसंगठनतर्फ महासंघबाट आठ जना र संघबाट पाँच जना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाइएको छ। यसअनुसार सात वटा महासंघबाट ४९ जना र अन्य १६ वटा जनसंगठनबाट ८० जना प्रतिनिधि हुनेछन्।
त्यसैगरी, केन्द्रीय विभागबाट ३९ जना, प्रवास कमिटीबाट ३० जना, अनुशासन आयोगबाट २९ जना, लेखा आयोगबाट ३० जना, निर्वाचन आयोगबाट २५ जना र सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि चयन गरिनेछ।
महाधिवेशनबाट चयन भएका ३५४ जना केन्द्रीय सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्। प्रतिनिधि चयन यही मंसिर १३ गते एकैदिन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ। प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लागेपछि निश्चित प्रतिशत मनोनीत सदस्य पनि हुनेछन्। नेताहरूका अनुसार, आगामी एघारौँ महाधिवेशनमा करिब २२ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस