Techie IT
२०८२ कार्तिक १६, आइतबार

श्रमिक नेता कमल गौतमलाई ‘शहीद घोषणा गर्नुपर्छ’ — जिफन्ट अध्यक्ष श्रेष्ठ


स्व. कमल गौतम

नेकपा (एमाले) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै उनले भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि धर्ना कार्यक्रमका क्रममा निधन भएका गौतमलाई “श्रमिकका महान योद्धा र शहीद” का रूपमा मान्यता दिनुपर्ने बताए।

जिफन्टका उपाध्यक्ष समेत रहेका ६५ वर्षीय गौतमको गत बिहीबार धर्ना स्थलमै निधन भएको थियो। उनी श्रमिक हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै आएका नेता थिए।

श्रेष्ठले भने, “५० हजार मजदुरका निम्ति बोल्दा–बोल्दै ज्यान गुमाएका कमरेड कमल गौतम ती फटाहा र चोरहरूभन्दा महान शहीद हुन्।” उनले जेनजी आन्दोलन र सरकारको रवैयाका कारण हजारौं श्रमिकको रोजगारी गुमेको भन्दै सरकारप्रति आक्रोश पनि प्रकट गरे। “आन्दोलनको नाममा चोर्ने, लुट्ने र मर्नेहरूलाई शहीद भनिन्छ भने श्रमिकका हकमा लड्दा ज्यान गुमाउने कमरेड गौतमलाई पनि शहीद घोषणा गर्नुपर्छ,” श्रेष्ठले भने।

श्रेष्ठले श्रमिक अधिकारका लागि जिफन्टको आन्दोलन निरन्तर रहने बताउँदै गौतमको योगदानलाई श्रमिक आन्दोलनको इतिहासमा अमर रहने उल्लेख गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट