Techie IT
२०८२ कार्तिक १८, मंगलबार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन मितिमा अझै असहमत


महाधिवेशन मितिमा मतभेदका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः सुरु भएको छ।

शुक्रबार र आइतबारका लागि तय भए पनि बस्न नसकेको बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रारम्भ भएको हो। बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो।

बैठकमा मुख्यतः पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्। महाधिवेशन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावअघि गर्ने कि पछि भन्नेबारे नेताहरूबीच सहमति जुट्न सकेको छैन।

यसअघि यही विषयमा सहमति नजुट्दा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। शीर्ष नेताहरूबीच शनिबारदेखि निरन्तर छलफल भए पनि साझा प्रस्तावमा एकमत हुन सकेको छैन।

आजको बैठकमा महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् भने संस्थापन पक्षले चुनावपछि गर्ने कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

संस्थापन पक्षीय नेताहरूको भेलाले १५औं महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको भेलाले २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्तावलाई केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको हो।

उता, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित, नत्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट