रास्वपाको समानुपातिक तर्फका उम्मेदवारका लागि आवेदन खुला, आवश्यक योग्यता के छ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ।
सौराहामा दुई दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पारित गरेको १० बुँदे निर्णय सार्वजनिक गर्दै रास्वपाले उम्मेदवार आह्वान गरेको हो। बैठकमा सह–महामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोटको रुपरेखा प्रस्तुत गरेका थिए।
बैठकपछि जारी विज्ञप्ति अनुसार उम्मेदवारका लागि सार्वजनिक पदको दुरुपयोग नगरेको, घृणात्मक अभिव्यक्ति वा दुर्व्यवहार नगरिएको, वैध वैवाहिक अवस्था भएको, नियमित पारदर्शी आम्दानी स्रोत भएको लगायतका स्वघोषणा अनिवार्य गरिएका छन्।
उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता कायम गर्न र ५० प्रतिशत भाराङ्क बोक्ने प्रारम्भिक निर्वाचन निष्पक्ष भएको/नभएको मूल्याङ्कन गर्न पार्टीले अडिट समिति गठन गर्ने पनि निर्णय गरेको छ।
त्यस्तै, रास्वपाले परम्परागत समानुपातिक बन्दसूची प्रणालीलाई परिमार्जन गर्दै जातीय क्लस्टरसँगै प्रादेशिक जनसांख्यिक अनुपात र २०७९ को निर्वाचनमा प्राप्त मतका आधारमा ११० जनाको बन्दसूची तयार गर्ने भएको छ।
युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न २५ देखि ४० वर्ष उमेर समूहका लागि २७ प्रतिशत कोटा तोकिएको छ। प्रवासबाट फर्कने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
२०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित भएका रास्वपा सांसदहरूलाई आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्न नपाइने व्यवस्था पनि गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस