महामन्त्री गगन थापाको प्रस्ताव: ३० वर्षमुनिका युवालाई केन्द्रीय समितिमा अनिवार्य समावेश गरौं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवालाई पार्टीको केन्द्रीय समितिमा समावेश गर्न प्रस्ताव गरेका छन्।
केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले पेस गरेको प्रस्तावमा विधान संशोधनसम्बन्धी विभिन्न सुझावहरू समेटिएका छन्, जसमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नेदेखि उम्मेदवार सिफारिस गर्ने नयाँ तरिका सम्मका विषय समावेश छन्।
थापाका अनुसार नयाँ परिस्थितिमा पार्टीको आमूल सुधार गर्न आवश्यक छ। ‘सदस्यता खुला र प्रक्रिया सहज बनाउँदै नेतृत्व चयन र निर्णय प्रक्रियामा सदस्यको निर्णायक भूमिका स्थापित गर्नुपर्छ,’ उनले भने। ‘तहगत प्रतिनिधि र नेतृत्व चयनको विधि, उम्मेदवार चयनमा प्राइमरी प्रणाली, भ्रातृ तथा शुभेच्छुक संस्थाको सञ्चालन, प्रदेश कार्यसमितिको अधिकार, पार्टी प्रवेश र जिम्मेवारी, शासकीय पदको अवधि, ल्याटरल इन्ट्री, र जरैदेखि समावेशीतासहितको संरचनागत सुधार आवश्यक छ।’ यसका लागि उनले विधान संशोधन मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका छन्। कात्तिक १८ गतेको केन्द्रीय समितिमा उनले सो प्रस्ताव राखेका थिए।
उनले भने, ‘जेन जेडसहित नयाँ पुस्ताको सार्थक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न, पार्टीलाई जरैदेखि समावेशी र निर्णय प्रक्रियामा सबैको पहुँच हुने गरी पुनःसंरचना गर्नुपर्छ।’ थापाको प्रस्तावअनुसार, पार्टीका सबै तहका नेतृत्व अनिवार्य रूपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्नुपर्नेछ।
वडास्तरदेखि नै ३० वर्षमुनिका युवाको सार्थक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ र ‘केन्द्रीय समितिमा पनि निश्चित प्रतिशतमा नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने थापाले बताएका छन् ।
थापाले पार्टीको केन्द्रीय समितिदेखि विभिन्न तहसम्म प्रत्येक क्षेत्र, पेसा र विधागत प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टर प्रणालीको प्रस्ताव पनि गरेका छन्।
उनका अनुसार, क्रियाशील सदस्यले स्थानीय तहको नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनोट गर्दा कम्तीमा एक महिला, एक युवा र विभिन्न क्लस्टरका व्यक्तिमध्ये आफूले आगामी निर्वाचनमा उम्मेदवारका रूपमा प्राथमिकता दिएका नामहरू सूचीकृत गर्नुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस