Techie IT
२०८२ कार्तिक २४, सोमबार

पूर्वप्रमुख र पूर्वआयुक्तहरूसँग छलफल गर्दै निर्वाचन आयोग


आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वआयुक्तहरूसँग आज छलफल गर्दैछ।

आयोगका अनुसार आगामी निर्वाचन तयारीका विषयमा विगतका अनुभव, शान्ति सुरक्षा, र राजनीतिक दलहरूसँगको समन्वयबारे विस्तृत छलफल हुने छ।

यसअघि आयोगले राजनीतिक दलहरूसँग समेत परामर्श गरेको थियो। साथै, आयोगले मतदाता नामावलीमा नाम छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन दल र सरोकारवालामार्फत प्रचार–प्रसार गर्न आग्रह गर्दै आएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको करिब ६० प्रतिशत काम सकिएको छ भने बाँकी कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्।

आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार पारेर खरिद प्रक्रिया सुरु गरिसकेको छ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने बताइएको छ। तीमध्ये १४ प्रकारका वस्तु खरिद प्रक्रिया अघि बढिसकेको आयोगले जनाएको छ।

निर्वाचनका लागि मतपेटिका, औंलामा चिह्न लगाउने मार्कर पेन, पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, लाहा छाप, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्री आवश्यक पर्ने छन्।

त्यस्तै, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, परिचय कार्ड, मतदान कक्षका लागि कपडाको छेकवारा, विभिन्न फारम र थैला पनि आयोगले आवश्यक पर्ने सामग्रीको सूचीमा समावेश गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट