एमालेले मदन भण्डारी र परिवारलाई अपहेलित गरेको छ — प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले दिवंगत नेता मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन्।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले नेतृत्वले भण्डारीको राजनीतिक योगदानमाथि प्रश्न उठाएर उनको सम्मान घटाउने प्रयास गरेको दाबी गरे।
‘जनताको बहुदलीय जनवादको अवधारणाबाट कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने मदन भण्डारी अहिले एमालेबाट अपहेलित हुनुभएको छ,’ प्रचण्डले भने, ‘एमालेले उहाँ र उहाँको परिवारलाई बदनाम गर्ने कोसिस गरेको छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीबारे व्यक्तिगत टिप्पणी गरेर अपमान गरेको आरोपसमेत लगाए। ‘केपी ओलीले नै मदन भण्डारीमाथि सहकारी ठगी र व्यक्तिगत जीवनबारे टिप्पणी गरेका छन्,’ उनले भने, ‘यो भन्दा ठूलो अपमान अरू के हुन सक्छ?’
प्रचण्डले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णयले पनि एमालेको चरित्र स्पष्ट भएको दाबी गरे। ‘विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले, मदन भण्डारीको एमाले हुनै सक्दैन,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस