Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

अराजकताबाट बनेको सरकार लोकतान्त्रिक हुन सक्दैन - अध्यक्ष ओली

कात्तिक २९ गते झापामा आयोजना हुन लागेको जागरणसभालाई भव्य रूपमा सफल बनाउन निर्देशन दिए


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट बनेको सरकार लोकतान्त्रिक हुन नसक्ने आरोप लगाएका छन्। उनले भदौ २३ र २४ गतेका घटनापछि गठित सरकारले लोकतन्त्रप्रति प्रतिबद्धता देखाउने अपेक्षा गर्नु ‘व्यर्थ’ हुने टिप्पणी गरेका थिए ।

एमाले झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझ भर्चुअल माध्यमबाट भएको छलफलमा अध्यक्ष ओलीले ‘अलोकतान्त्रिक सरकार’ले चुनाव गराउने नाटक गर्दै देशलाई भ्रमित पार्न खोजिरहेको आरोप लगाए। मुलुकमा घोषणा भएको निर्वाचन मिति चार महिना मात्र बाँकी हुँदा पनि राजनीतिक दलका नेताहरूलाई आवागमन र प्रचार–प्रसारमै रोक लगाइएको भन्दै उनले यस्तो अवस्थालाई “जनतालाई झुक्याउने खेल” भने।

ओलीले भने, “सरकार चुनाव गराउँछ भन्छ, तर नेताहरूलाई जिल्ला जान नपाउने, निर्वाचन क्षेत्रमा नजाने, प्रचार गर्न नपाउने जस्ता प्रतिबन्ध लगाइन्छ। यस्तो अवस्थामा कस्तो चुनाव गर्न खोजिएको हो?”

अध्यक्ष ओलीले एमालेमाथि जेनजी आन्दोलनका नाममा गरिएको आक्रमणलाई पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका पक्षमा गरेका गतिविधिलाई कमजोर पार्ने प्रयासका रूपमा चित्रित गरे। यस प्रकारका गतिविधि रोक्न पार्टी सक्षम रहेको उनले दाबी गरेका छन् ।

समाजमा बढ्दै गएको अराजकता रोक्न एमालेले टोलटोलमा ‘टोल सुरक्षा समिति’ गठन थालेको ओलीले जानकारी दिए। उनका अनुसार यी समितिले क्षेत्रका अपराध नियन्त्रण, संलग्न व्यक्तिहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको अनुभूति गराउने काम गर्नेछन्।

त्यसैगरी, ओलीले गैरसंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि देशभर दबाब सिर्जना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए। प्रतिनिधि सभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक प्रक्रियालाई ‘सही बाटोमा फर्काइने’ उनको भनाइ थियो।

बैठकमा अध्यक्ष ओलीले आउने कात्तिक २९ गते झापामा आयोजना हुन लागेको जागरणसभालाई भव्य रूपमा सफल बनाउन निर्देशन दिएका छन् । केन्द्रीय जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले आफ्नै आन्दोलनका कार्यक्रम निरन्तर चलाउनुपर्ने उनले बताए।

बैठकमा एमाले झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ मा भएको विध्वंस, आगजनी र तोडफोडपछि उत्पन्न अवस्थाबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट