के तोसिमा कार्की रास्वपा छोड्दै छिन् ? यस्तो छ उनको स्टाटस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीभित्र निरन्तर पुनर्निर्माणको आवश्यकता उठाउने नेताहरू संस्थापन समूहको निशानामा पर्ने गरेको आरोप लगाएकी छन्। उनले ‘देश एक व्यक्तिले बन्दैन’ भन्दै पार्टी अध्यक्ष रवि लामिछाने नजिकका नेताहरूलाई लक्षित गर्दै कटाक्ष गरेकी हुन्।
कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत घमण्ड र दबाबको राजनीति चलाउने प्रवृत्ति पार्टीभित्रै मौलाउँदै गएको उल्लेख गरेकी छन्। यस क्रममा उनले केपी शर्मा ओलीको उदाहरणसमेत प्रस्तुत गर्दै रास्वपाभित्र नेतृत्व शैली कमजोर भइरहेको संकेत गरेकी छन्।
उनका अनुसार सन्तोष परियार, सुमना श्रेष्ठलगायत जिम्मेवार नेताहरू पार्टी छोडेर निस्किनुको मूल दोष नेतृत्वकै शैलीमा छ।
कार्कीले लेखेकी छन्, ‘सबै अट्ने, सबै खट्ने पार्टी बनाउने मार्गचित्र पेस हुन नदिन अनेक प्रयास गरियो। तर संगठनका साथीहरूको अत्यधिक दबाबका कारण संस्थापन पक्ष बाध्य भयो। दिन–रात खटिने सबै साथिहरूलाई त्यो दिनको समर्थनका लागि धन्यवाद। तर निर्णयमा न बहुमतको कदर गरियो, न विधि–पद्धति नै अपनाइयो। घमण्ड र दबाबले पार्टी चलाउनुपर्ने भएको भए ओली नै थिए नि!’
उनले पार्टी सुधार (रिफर्म) को एजेन्डालाई प्रतिगमन कहिलेही नबनाउन चेतावनी दिँदै भनिन्, ‘बेलैमा नसुध्रिए, सबै अट्ने–सबै खट्ने गरी पार्टी सुधार हुन नसके, पार्टीले अझ धेरै अब्बल व्यक्तिहरू गुमाउँदै जानेछ।’
कार्कीले फरक विचार राख्नेहरूलाई मिडिया ट्रायलको सिकार बनाइने गरेको आरोप पनि लगाइन् । ‘फरक विचार राख्दैमा, फरक रोडम्याप ल्याउँदैमा बारम्बार मिडिया ट्रायल सहनुपर्छ भने, आफ्नो अस्तित्व नै कसैले दया देखाइदिएको भान हुने प्रकारका प्रहार भएपछि साथिहरू एकपछि अर्को निस्किन्छन्— कोही बोलेर, कोही नबोलेर,’ उनले लेखेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस