Techie IT
२०८२ फागुन ८, शुक्रबार

दुर्गा प्रसाईं पक्राउको विरोधमा नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा आउने


दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैदेखि संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। सो दलले मंसिर ७ गते प्रदर्शन गर्ने निर्णय गरेको थियो तर प्रसाईंको गिरफ्तारीपछि आजैदेखि देशव्यापी प्रदर्शन थाल्ने तयारी गरेको नेताहरूले बताएका छन्।

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ। त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं।”

प्रहरीको संयुक्त टोली जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो।

यसअघि १५ चैतमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए। राजावादी गतिविधिमा संलग्न प्रसाईंले बैंकबाट लिएको ऋण मिनाहा गर्नु पर्ने लगायतका माग राख्दै ७ मंसिरदेखि आन्दोलन गर्न तयारी गरिरहेको बताइएको थियो। तर, हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई फेरि सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

गिरफ्तारीको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा ध्यानाकर्षण पत्र बुझाउने र त्यसपछि देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताएका छन् ।

थाम्सुहाङले प्रसाईंलाई तत्काल, विना शर्त र ससम्मान रिहाइ गर्न माग गर्दै चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट