Techie IT
२०८३ असार २२, सोमबार

ठग र लुसिफरले युवालाई राष्ट्रविरुद्ध प्रयोग गर्न खोज्दैछन् - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र ‘लुसिफर’ प्रवृत्तिहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजिरहेको आरोप लगाएका छन्।

४२औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको टिप्पणी गरे। युवालाई देशको इतिहास, वर्तमान अवस्था र भविष्यबारे गम्भीर रूपमा बुझ्न आग्रह गर्दै ओलीले भने, ‘नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन्। इतिहास तिम्रो आफ्नै आयुबाट नाप्ने प्रयास नगर। इतिहास लामो छ। देश पढ, देश बुझ, र यो देशलाई कता लैजान खोजिँदैछ भन्ने बुझ्ने प्रयास गर।’

अध्यक्ष ओलीले विभिन्न प्रकारका ठग र लुसिफर प्रवृत्तिहरू युवालाई प्रभावित पार्न सक्रिय रहेको उल्लेख गर्दै भने, “अहिले सबैखाले ठगहरू, लुसिफरहरूले धाक नलगाए हुन्छ। तिनका सपना पूरा हुने छैनन्।”

यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तर्फ संकेत गर्दै आफूविरुद्ध चुनाव लड्ने भन्दै तामझाम भइरहेको दाबी गरे।

“कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरिरहेका छन्। हामीले नचिन्ने, नचिन्ने खालका नोट लिएर निर्वाचन क्षेत्रमा पुगेका छन्,” ओलीले भने।

आफू विगतदेखि निर्वाचन लड्दै आएको झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बन्ने तयारीमा बालेन रहेको खबर सार्वजनिक भइरहेका बेला अध्यक्ष ओलीको यस्तो टिप्पणी आएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट