मधेश आत्मसात् नगरी कोही पूर्ण नेपाली हुँदैनः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि दिएको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका थिए।
कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै थापाले मधेशले लोकतन्त्र स्थापनामा खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताएका छन् । उनले भने, ‘मधेशले कांग्रेसलाई लगाएको गुण, मधेशले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेशले सिंगो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु। मैले पढेर र बुझेर आएको हुँ।’
मधेशलाई आत्मसात् नगरेसम्म नेपाली पहिचान अधूरो हुने तर्क गर्दै थापाले भने,‘मधेशलाई मनभित्र राखेनौँ, आत्मसात् गरेनौँ भने नेपालीपन अपूरो हुन्छ।’ सभालाई सम्बोधन गर्दै मधेशप्रति देखिएको सम्मान र जनसमर्थनबाट आफू उत्साहित भएको उनले बताएका थिए ।

सभापति थापाले मधेशको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले ती विषयमा तत्काल सुधार आवश्यक रहेको बताएका थिए।
‘कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो।’
अहिले अवस्था उल्टिएको उल्लेख गर्दै उनले भने, ‘इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ। हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु।’
थापाले आगामी १२–१५ वर्षमा नेपालको आम्दानीको मुख्य स्रोत सूचना प्रविधि हुने दाबी गर्दै त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार आवश्यक रहेको बताए। ‘सूचना प्रविधिमा सफल हुन केटाकेटी वेलादेखि नै गणित र विज्ञान जान्नुपर्छ,’ उनले जोड दिए।
उनले आफ्नो टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र ठोस समाधान दिने प्रतिबद्धता जनाए।
केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा नै मधेश आउँछु र यहाँका जनताको प्रतिनिधित्व गर्छु भन्ने सोच बनेको स्मरण गर्दै थापाले मधेशप्रति आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्याएका थिए ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन ?’ भन्ने प्रश्न आफूले पटक–पटक उठाएको थापाले बताएका छन् ।
उनले थपे, “म प्रश्न मात्र उठाउन आएको होइन, त्यसको उत्तर खोज्न र समाधान दिन तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ।”
सभापति थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का जनताको समस्या सुनुवाइ र समाधानका लागि काठमाडौंमा क्षेत्रीय कार्यालय खोल्ने घोषणा पनि गरेका थिए।




तपाईको प्रतिक्रिया दिनुहोस