बालेनलाई उभ्याउन देशी–विदेशीको लगानी भएको प्रचण्डको आरोप
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ को भरमा लोकप्रिय बन्ने प्रवृत्तिलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानमा आधारित राजनीतिलाई पन्छाएर केवल चर्चाका लागि गरिने गतिविधिलाई प्रवर्द्धन गर्नु मुलुकका लागि हितकर नहुने बताएका छन् । उनले भने, “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्टकै भरमा लोकप्रिय हुनेहरूलाई प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरेको हामी देखिरहेका छौँ।”
उनले यस्ता शक्तिहरूले भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायका मुद्दालाई वास्तविक सुधारभन्दा प्रचारमुखी शैलीमा अघि बढाएको पनि आरोप लगाए।
दाहालले मुलुकमा राष्ट्रिय शक्ति निर्माण गरी देश र जनताको पक्षमा काम गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य भएको उल्लेख गर्दै कम्युनिस्ट दलहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्र बनाएको बताए। इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि उक्त पहल गरिएको उनको भनाइ छ।
कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै देशलाई वर्तमान संकटबाट जोगाउन सक्ने भन्दै उनले छरिएर रहेका अन्य शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।



तपाईको प्रतिक्रिया दिनुहोस