Techie IT
२०८२ माघ १७, शनिबार

नयाँ सोचसहित चुनावमा गएका छौँ, पाँच वर्ष सरकार चलाउने अवसर दिनुहोस् : गगन थापा


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको बताउँदै आगामी पाँच वर्षका लागि पार्टीलाई सरकार चलाउने अवसर दिन आग्रह गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, “हामी आँखामा सपना र देशका लागि केही गर्ने भोक बोकेर आएका छौँ । देशलाई एक ठाउँमा ल्याउने जिम्मेवारी कांग्रेसले लिन्छ ।”

उनले विगतमा विभिन्न कारणले पार्टीबाहिर रहेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्काउनुपर्नेमा जोड दिएका थिए । “हिजो घरबाहिर रहनु भएका सबै साथीहरूलाई पार्टीमा बोलाउनुपर्छ,” उनले भने ।

आफू राम्रो निर्वाचन क्षेत्र छाडेर मधेश आएको उल्लेख गर्दै थापाले मधेशलाई नेपालको केन्द्र र मुटुका रूपमा व्याख्या गरे । “मधेश नेपाली कांग्रेसको जननी हो,” उनले भने, “हामी हिजोका गल्ती सच्याएर अगाडि बढ्छौँ ।”

कांग्रेसले मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्दै उनले भने, “आगामी पाँच वर्ष हामी मधेशलाई जुरुक्क बोक्न चाहन्छौँ । सिंहदरबारमा देशका निर्णय लेखिँदा प्रधानमन्त्रीले मधेश सम्झिने अवस्था बनाउँछौँ । त्यसैले अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउने म्यान्डेट दिनुहोस् ।”

थापाले कांग्रेस सबै भाषा, जाति र धर्मलाई एक ठाउँमा जोड्ने पार्टी भएको उल्लेख गर्दै मधेशबाट कांग्रेसका सबै उम्मेदवार विजयी हुनुपर्ने बताए । “धनुषाका चारै क्षेत्र कांग्रेसले जित्नुपर्छ,” उनले भने ।

मधेशका मुद्दामा स्पष्ट र निर्भीक नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै थापाले चुनावमा राष्ट्रिय र स्थानीय दुवै मुद्दा लिएर जनतामाझ जान पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

“यदि कसैले नयाँ पार्टीलाई भोट दिन्छु भन्छ भने नयाँ कांग्रेस यही हो भनेर रुखमा भोट हाल्न भन्नुपर्छ,” उनले भने, “मधेशवादीलाई भोट दिन्छु भन्नेहरूलाई कांग्रेस नै सबैभन्दा पुरानो र असली मधेशवादी पार्टी हो भन्न सक्नुपर्छ ।”

कांग्रेस अब रूपान्तरित भएको दाबी गर्दै थापाले पार्टी उत्तेजना फैलाउने नभई देश सम्हाल्ने शक्ति भएको बताए । “कांग्रेस ध्वंश गर्ने होइन, मिलाउने र सच्याउने पार्टी हो । देश र व्यवस्थालाई सम्हाल्ने जिम्मा कांग्रेसले लिन्छ,” उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट