Techie IT
२०८२ माघ १८, आइतबार

कर्मचारीको अटेरीले सरकार चल्नै मुस्किल भयोः मुख्यमन्त्री बानियाँ


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजामती कर्मचारीको अटेरी प्रवृत्तिका कारण सरकारी कामकाजमा गम्भीर समस्या भइरहेको बताएका छन्।

आइतबार प्रदेश सभाको आठौँ वार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य दिँदै मुख्यमन्त्री बानियाँले सरकार सफल वा असफल हुने कुरामा कर्मचारीको भूमिका निर्णायक हुने उल्लेख गरे। कर्मचारीका विषयमा खुलेर बोल्नुपरेको भन्दै उनले प्रदेश सभाले पारित गरेको ऐनअनुसार सांसदका स्वकीय सचिवलाई सेवा–सुविधा दिने निर्णय कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

“केन्द्रबाट आएको एउटा परिपत्र देखाएर एउटा कर्मचारीले अटेरी गर्दा माननीयज्यूका स्वकीयले अहिलेसम्म तलब पाएका छैनन्” मुख्यमन्त्री बानियाँले भने, “प्रदेश सरकारले बनाएको ऐनमा टेकेर काम गर्न नसक्ने कर्मचारी कसरी प्रदेश सभामा बस्न सक्छन्?”

जेन–जी आन्दोलनपछि बनेको सरकारले खर्च कटौती गर्ने निर्णय गर्दै प्रदेश सांसदका स्वकीय सचिवको तलब रोक्का गरेको विषयप्रति उनले गुनासो गरे। प्रदेशको ऐनका आधारमा प्रदेशकै विषयमा निर्णय लिनसक्ने क्षमता निजामती कर्मचारीमा हुनुपर्ने उनको भनाइ छ।

कर्मचारीहरूले प्रदेश सरकारले बनाएको कानुन नटेरी कुर्सी जोगाउने प्रवृत्तिले समस्या सिर्जना गरेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले चेतावनी दिदै भने, “निजामतीले अझै अटेरी गर्ने हो भने अब माननीयज्यूहरूले कुरा उठाउने मात्र होइन, एक्सनमा जानुपर्छ।”

सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै उनले भने, “सरकारको कमजोरी म सुधार्न तयार छु। मैले गल्ती गरेँ भने एक मिनेट पनि कुर्सीमा बस्दिनँ। तर निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाले आफ्नो कर्तव्य पूरा गर्छन् कि गर्दैनन्?”

मुख्यमन्त्री बानियाँले दलहरूबीचको आरोप–प्रत्यारोपका कारण नागरिकमा निराशा बढ्दै गएकोसमेत उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट