“रास्वपाले प्रधानमन्त्री नियुक्ति करार कर्मचारी भर्नाजस्तो ठानेको छ” - उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गर्दै प्रधानमन्त्री बनाउने प्रक्रिया सामान्य कर्मचारी नियुक्तिजस्तो नहुने बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्री बन्न राजनीतिक आधार र जनसमर्थन आवश्यक हुने उल्लेख गरे। उनले रास्वपाले सरकार नेतृत्व गर्ने विषयलाई हल्का रूपमा प्रस्तुत गरेको आरोप समेत लगाएका छन् ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि नेपाली कांग्रेस बाहेक अन्य दलहरू जनतामाझ सुदृढ रूपमा जान नसकेको दाबी गर्दै शर्माले नेकपा एमालेले पार्टी विधान संशोधन गरी दुई कार्यकालपछि अध्यक्ष अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन कार्यकालसम्म अध्यक्ष बन्न सकिने व्यवस्था गरेको टिप्पणी गरे।
विभिन्न दलप्रति कटाक्ष गर्दै उनले परिवर्तनको दाबी गर्ने कतिपय शक्ति अझै पनि जनभावनाअनुसार अघि बढ्न नसकेको बताए। नेपाली कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत नीतिगत परिवर्तन गर्दै अघि बढिरहेको उनको भनाइ थियो। ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका पुस्तामा जिम्मेवारी सुम्पँदै पार्टीले देशका समस्याको गहिरो विश्लेषणसहित अगाडि बढिरहेको उनले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस