निर्वाचन सुरक्षा प्रति प्रधानमन्त्री कार्कीको चिन्ता: तराईमा झडपको जोखिम
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा तथा शान्ति व्यवस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व पर्ने र हिमाली क्षेत्र, विशेषगरी रुकुम पूर्वमा सम्भावित हिमपातजस्ता प्राकृतिक चुनौती देखिन सक्ने भन्दै उनले सतर्कता आवश्यक रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले विभिन्न जिल्लामा स्थानीय समस्या देखिएको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू अत्यधिक सक्रिय रहेको र तिनीहरूबीचको प्रतिस्पर्धा झडपमा रूपान्तरित हुन सक्ने आशंका व्यक्त गरिन्। दलहरूबीच झण्डा जलाउनेजस्ता घटना सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले निर्वाचन अवधिमा तनाव बढाउन सक्ने चेतावनी दिएकी छन्। सम्भावित घटनाबाट जोगिन समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिइन्।
निर्वाचन बहिष्कार गर्ने समूहबारे बोल्दै प्रधानमन्त्री कार्कीले त्यस्ता समूहको प्रभाव कमजोर देखिएको टिप्पणी गरिन्। उनका अनुसार कतिपय समूहले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र चन्दा असुली गर्ने प्रवृत्ति अपनाएका छन्। व्यापार वा उद्योगको आवरणमा पार्टी सञ्चालन गर्ने प्रवृत्तिप्रति समेत उनले चिन्ता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस