रास्वपा सभामाथि हर्क साम्पाङको प्रश्न: एमसीसी र सहकारी पीडितबारे किन नबोलेको ?
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा आयोजना गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारी पीडित र एमसीसीका विषयमा प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले रवि लामिछाने र बालेन्द्र शाहलाई सम्बोधन गर्दै सभामा सहकारी पीडितका विषयमा के बोलेको भनी प्रश्न गरेका छन्।
उनले लेखेका छन्, “१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा ‘नो एमसीसी’ भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितका बारेमा बोलियो कि नाइँ ?”
साम्पाङले रास्वपाको सभाले ‘सिंहदरबार जलाउने’ अभिव्यक्तिको औचित्य पुष्टि गर्यो कि नगरेको भन्दै पनि प्रश्न गरेका छन्। उनले किसान, मजदुर र सुकुम्बासीका विषयमा पार्टीको धारणा के हो भन्नेबारे पनि जिज्ञासा राखेका छन्।
इटहरीमा आयोजित उक्त सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले धरानको खानेपानी समस्या आफूहरू सरकारमा गएपछि समाधान गर्ने बताएका थिए। उनले सप्तकोशी नदीको पानी लिफ्टिङ गरेर धरान पुर्याउने योजना प्रस्तुत गर्दै यसका लागि करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस