Techie IT
२०८२ चैत्र ६, शुक्रबार

घन्टीमा भोट हाल्ने आफ्नै नेता कारबाही गर्ने प्रचण्डको कडा चेतावनी

अन्यत्र मतदान गर्नेहरूलाई कारबाही गरी पार्टीलाई फेरि जरैदेखि बलियो बनाउनुपर्छ


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने आफ्नै जिम्मेवार नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई मतदान गर्ने नेताहरूलाई कारबाही गरिने स्पष्ट पारेका छन् ।

“को-कोले भोट हालेनन्? केन्द्रीय सदस्य, प्रदेश सदस्य र जनवर्गीय संगठनका नेताहरू को-को क्षेत्रमा गएनन्? कसले घन्टीमा भोट हाले? त्यसको विस्तृत रिपोर्ट दिनैपर्छ,” उनले भने।

प्रचण्डले पार्टीभित्र अनुशासन कायम नगरी संगठन बलियो बनाउन नसकिने उल्लेख गर्दै कारबाही केन्द्रीय सदस्यबाटै सुरु हुने बताए। “तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन,” उनले चेतावनी दिए।

उनका अनुसार प्रारम्भिक रिपोर्टमा करिब ५० प्रतिशत नेताको मत ‘घन्टी’ चिन्हतर्फ गएको देखिएको छ। उनले यसबारे ठोस विवरण ल्याउन निर्देशन दिएका छन्। “कसले पार्टीविरुद्ध मतदान गर्‍यो भन्ने स्पष्ट विवरण ल्याउनुहोस्, हामी आँखै चिम्लेर कारबाही गर्छौं,” उनले भने।

प्रचण्डले पार्टी पुनर्गठनको प्रक्रिया यहीँबाट सुरु हुने समेत बताए। “नयाँ ढंगले पार्टी बनाउने काम पनि यहीँबाट सुरु हुन्छ,” उनले भने।

पार्टीको तल्लो तहबाट आएका सुझाव र आलोचनालाई सचिवालयमा प्रस्तावका रूपमा लैजाने र त्यसपछि छलफल गरी निर्णय गरिने उनले जानकारी दिए।

महासंघ अध्यक्ष जगत सिंखडा ले संयोजक प्रचण्ड अहिले सम्मकै कठोर शैलीमा प्रस्तुत भएको बताए। उनका अनुसार पार्टीविरुद्ध मतदान गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने सुझाव महासंघले नेतृत्वसमक्ष राखेको थियो।

“अन्यत्र मतदान गर्नेहरूलाई कारबाही गरी पार्टीलाई फेरि जरैदेखि बलियो बनाउनुपर्छ भन्ने उहाँको धारणा हो,” सिंखडाले भने।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ। जेनजी आन्दोलनपछि १८ भन्दा बढी दल तथा समूह मिलेर नेकपा गठन भएको हो।

निर्वाचनको समीक्षा तल्लो तहबाट सुरु भइसकेको र प्राप्त प्रतिवेदनका आधारमा केन्द्रीय तहमा थप निर्णय हुने महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट