Techie IT
२०८२ चैत्र ६, शुक्रबार

निर्वाचन हारपछि कांग्रेसको आत्ममूल्यांकन: पार्टीले भ्रामक प्रचार रोक्न सकेन


नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा अपेक्षित परिणाम नआउनुको कारणमा आफ्ना सफल नीतिहरूको स्वामित्व लिन नसक्नु र विपक्षीको भ्रामक प्रचार रोक्न असफल हुनु मुख्य कारण भएको स्वीकार गरेको छ।

पार्टीको प्रारम्भिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रको विकास, वैदेशिक रोजगारीको बाध्यता र गैरआवासीय नेपालीहरूसँगको सम्बन्धमा आत्ममन्थन गरिएको छ।

प्रतिवेदनमा नेपालमा आज निजी क्षेत्रको व्यापक उपस्थिति कांग्रेसले अपनाएको नीतिका परिणाम भएको उल्लेख छ। जुत्ता उत्पादनदेखि बिजुली उत्पादन, बैंक, अस्पताल र सञ्चार माध्यमसम्मको विकास उदार आर्थिक नीतिका कारण सम्भव भएको जिकिर गरिएको छ। तर, सरकारले उत्पादन नगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भूमिका जनतालाई बुझाउन नसक्दा उल्टै आलोचना खेप्नु परेको निष्कर्ष प्रतिवेदनमा छ। “विद्युत उत्पादनको दुई तिहाइ हिस्सा निजी क्षेत्रले ओगटेको छ, तर त्यसको श्रेय लिनुको साटो आलोचनाको सिकार भयौँ,” प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, वैदेशिक रोजगारीसम्बन्धी विपक्षीको प्रचार–प्रसारले मतदातालाई प्रभावित गरेको र पार्टीले त्यसलाई प्रभावकारी ढंगले चिर्न नसकेको कांग्रेसको निष्कर्ष हो। वैदेशिक रोजगारी तत्कालीन नेपालको आवश्यकता भएको वास्तविकता लुकाएर “चुनाव जिते वैदेशिक रोजगारी अन्त्य हुन्छ” जस्ता भावनात्मक नाराले मतदातामा भ्रम सिर्जना गरेको बताइएको छ।

गैरआवासीय नेपालीसँगको सम्बन्धमा पनि कांग्रेसले कमजोरी स्वीकारेको छ। डायस्पोरामा “नेपालमा केही भएको छैन, सबै खराब छ” भन्ने नकारात्मक धारणा फैलिन नदिने पक्ष कमजोर भएको प्रतिवेदनमा उल्लेख छ। नागरिकता दिलाउने संवैधानिक बन्दोबस्त र चुनावी प्रतिबद्धता कडा भए तापनि विदेशमा रहेका नेपालीहरूको “मन र मत जित्न नसक्नु” पार्टीको सांगठनिक कमजोरीका रूपमा व्याख्या गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट