ओली पक्राउपछि एमाले उथलपुथल: आफ्नै महासचिवको पुतला जल्यो, विशेष महाधिवेशनको माग चर्कियो
नेकपा एमालेका जनसंगठनहरू यतिबेला आन्दोलित बनेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मुद्दामा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
शनिबार र आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सिंहदरबार र माइतीघर क्षेत्रमा प्रहरीले लाठीचार्ज गर्दा एमालेका केही नेता–कार्यकर्ता घाइते भएका छन्।
आन्दोलनलाई निरन्तरता दिँदै एमाले अहिले आन्तरिक शक्ति सुदृढीकरण र जनपरिचालनमा केन्द्रित भएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनरत अनेरास्ववियुका एक समूहले आफ्नै पार्टी महासचिव शंकर पोखरेलको पुतला दहन गरेको छ।
काठमाडौंस्थित अमृत साइन्स क्याम्पस (अस्कल) कमिटीले बिहीबार पुतला जलाएको हो। अस्कल क्याम्पसबाट सुरु भएको विरोध जुलुस पार्टी केन्द्रीय कार्यालयसम्म पुगेको थियो, जहाँ महासचिवविरुद्ध चर्को नाराबाजीसहित पुतला दहन गरिएको थियो।
अनेरास्ववियु अस्कल क्याम्पसका नेता गोपालजंग शाहीका अनुसार, संसदीय दलको निर्वाचन प्रक्रियामा पार्टी नेतृत्वले योजनाबद्ध रूपमा सुहाङ नेम्वाङलाई प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना गरेपछि आक्रोश चुलिएको हो।
उनले यो असन्तुष्टि केवल रामबहादुर थापा ‘बादल’लाई दलको नेता चयन गरिएको विषयमा मात्र सीमित नभएको स्पष्ट पारेका छन् । उनका अनुसार, लामो समयदेखि थुप्रिँदै आएको असन्तोषको उत्कर्षका रूपमा महासचिवविरुद्ध पुतला दहन गरिएको हो।
‘हाम्रो असन्तुष्टि जेनजी आन्दोलनयतादेखि नै सुरु भएको हो। पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको माग गर्दै आएका थियौं,’ शाहीले भने, ‘तर महाधिवेशनले फेरि पनि पुरानै नेतृत्वलाई निरन्तरता दियो। निर्वाचनमा युवालाई न्यून अवसर दिइयो, यद्यपि पाएका अवसरमा धेरैले जिते।’
फागुन २१ को निर्वाचनले राजनीतिक पुस्तान्तरणको संकेत दिए पनि पार्टी नेतृत्व नसच्चिएको भन्दै उनले आक्रोश व्यक्त गरे। सुहाङ नेम्वाङलाई योजनाबद्ध रूपमा पन्छाइएको आरोप लगाउँदै उनले पार्टी पदाधिकारीहरूको उपादेयता समाप्त भइसकेको दाबी गरे।
‘देशले युवा नेतृत्व खोजिरहेको छ, सुहाङजस्ता पात्र अघि आउनुपर्छ भन्ने चाहना छ। तर नेतृत्व फेरि पुरानै ढाँचामा अडिन्छ भने त्यो स्वीकार्य छैन। अब यो नेतृत्व नफाल्दासम्म विश्राम हुँदैन,’ उनले चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस